दाङमा यार्सागुम्बा सहित एक व्यक्ति पक्राउ

मंगलबार, जेठ २७, २०८२

दाङ, २६ जेठ - दाङको लमही नगरपालिका–९ अमिलिया स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा वन पैदावार (यार्सागुम्बा) सहित एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, पश्चिमबाट पूर्वतर्फ गइरहेको लु ५४ प ७८२७ नम्बरको पल्सर मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिएको जानकारीपछि प्रहरी टोली घटनास्थल पुग्दा, मोटरसाइकल चालक दुर्घटना पश्चात भाग्ने प्रयासमा रहेको पाइयो। चालक जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ स्थायी घर भई हाल सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका–१२ मा बसोबास गर्दै आएका ४८ वर्षीय शिवचन्द्र बुढा रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, दुर्घटनापछि पक्राउ पर्न सक्ने डरले बुढाले नजिकैको एक घरमा लुकाइ राखेको झोला समेत फेला पारिएको छ। उक्त घर स्थानीय रिता चौधरीको रहेको र झोला राखिएकोबारे उनले जानकारी नपाएको प्रहरीलाई बताएकी छन्।

प्रहरीले झोलाको खानतलासी गर्दा निम्न वन पैदावार तथा शंकास्पद वस्तुहरू बरामद गरेको जनाएको छः

१. कालो रंगको पछाडि भिर्ने झोलाभित्र कालो प्लास्टिकमा प्याक गरिएको यार्सागुम्बा जस्तो देखिने पदार्थ – कुल तौल ५०० ग्राम (प्लास्टिक हटाएपछि ४९५ ग्राम)
२. पहेँलो ढक्कन भएको डिब्बामा कस्तुरीको विणा जस्तो सुगन्ध आउने ४० वटा कालो रंगका दाना
३. हरियो ढक्कन भएको डिब्बामा कस्तुरीको विणा जस्तो देखिने ४० वटा दाना
४. रातो ढक्कन भएको डिब्बामा १८ वटा यस्तै दाना तथा स-साना धुलो कणहरू
५. लु ५४ प ७८२७ नम्बरको १५० CC क्षमताको कालो–रातो रंगको पल्सर मोटरसाइकल

बरामद सामानसहित पक्राउ परेका शिवचन्द्र बुढालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, लमही दाङमा बुझाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्