सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ गोठीबनमा विद्युतका पोल गाडिएको र तारसमेत तानिएको लामो समय बितिसक्दा पनि विद्युत् सेवा सञ्चालन हुन नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन्।
गोठीबनका केही क्षेत्रमा विद्युतका पोल गाडेर तार तानिए पनि अहिलेसम्म घरमा बत्ती बल्न नसकेको स्थानीयको गुनासो छ। गाउँको केही भागमा अझै पोल नपुगेको तथा कतिपय स्थानमा पोल आवश्यकताभन्दा टाढाटाढा गाडिएकाले विद्युत् विस्तारको कामसमेत अपूरो रहेको स्थानीयले बताएका छन्।
गोठीबन आमासमूहको बैठकमा विद्युत् समस्याको विषय उठेपछि स्थानीय महिलाहरूले पत्रकारलाई बोलाएर आफूहरूले भोग्दै आएको समस्या सार्वजनिक गरेका हुन्। उनीहरूले वर्षौंसम्म पोल र तार पुगेको अवस्थामा पनि विद्युत् सेवा सञ्चालन हुन नसक्नु दुःखद भएको भन्दै सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको कुरा उल्लेख गरेका छन्।
स्थानीयले विद्युत् सेवा सञ्चालनका लागि आवश्यक पहल गर्न र सम्बन्धित विद्युत् कार्यालयसम्म आफ्नो आवाज पुर्याउन स्थानीय सरकारसँग माग गरेका छन्। उनीहरूले समस्या समाधानमा तत्काल पहल नभए गाउँपालिकासम्म पुगेर ध्यानाकर्षण गराउने चेतावनीसमेत दिएका छन्।
गोठीबन आमासमूहकी पूर्व अध्यक्ष बसन्ती नेपालीले विद्युत् सेवा नहुँदा सामान्य कामका लागि समेत समस्या भोग्नुपरेको बताइन्। उनका अनुसार मोबाइल चार्ज गर्नसमेत ताढा ताढासम्म पुग्नुपर्ने बाध्यता रहेको कुरा बताईन।
“मोबाइल चार्ज गर्न पनि सहर सम्म पुग्नुपर्ने अवस्था छ। गाउँमा पोल र तार पुगेको धेरै समय भयो, तर अहिलेसम्म बत्ती बल्न सकेको छैन। अब पनि चाँडै विद्युत् सञ्चालन नभए स्थानीय सरकार र वडा सरकारको ध्यानाकर्षण गराउन जान्छौँ,” नेपालीले भनिन् ।
स्थानीयका अनुसार विद्युत् सेवा सञ्चालन नहुँदा मोबाइल चार्ज गर्नेदेखि रातको समयमा घरायसी कामकाज तथा बालबालिकाको अध्ययनसम्म प्रभावत परेको छ। वर्षौंअघि विद्युत् विस्तारको काम सुरु भएर पनि सेवा सञ्चालन नहुँदा आफूहरू निराश बनेको उनीहरूको भनाइ छ।
स्थानीयले अब पनि विद्युत् सेवा सञ्चालनमा ढिलाइ भए आमासमूहसहित गाउँपालिका पुगेर घेराउ तथा दबाबमूलक कार्यक्रम गर्नेसम्मको चेतावनी दिएका छन्
विद्युत सेवा सुचारु गर्ने बत्ती पुर्याउने स्थानीय सरकारको मुख्य जिम्मेवारी नभएपनि विद्युत कार्यालयको ढिलासुस्तीको मारमा स्थानीय सरकार पर्दै आइरहेको छ।
तर, विद्युत् सेवा सञ्चालनमा ढिलाइ हुनुको वास्तविक कारण के हो भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित कार्यालयको आधिकारिक धारणा लिन बाँकी छ। पोल तथा तार विस्तार भइसकेपछि पनि विद्युत् चार्ज हुन नसक्नुको प्राविधिक कारण, बाँकी काम, बजेट वा अन्य समस्या के हो भन्ने विषयमा सम्बन्धित कार्यालयको प्रतिक्रिया आवश्यक देखिन्छ। यस्तै, गाउँपालिकाले विद्युत् सेवा सञ्चालनका लागि हालसम्म गरेको पहल, नेपाल विद्युत् प्राधिकरणसँग भएको समन्वय र आगामी योजनाबारे गाउँपालिकाको धारणा पनि सार्वजनिक हुन आवश्यक छ।
पोल र तार पुगेको वर्षौं बितिसक्दा पनि बत्ती बल्न नसकेको विषयमा सम्बन्धित निकायले तत्काल चासो दिई समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ।