भारी वर्षाको सम्भावनापछि घोराहीका विद्यालय दुई दिन बन्द गर्न निर्देशन

बिहीबार, असोज ८, २०८३

घोराही,८ असाेज - दाङकाे घोराही उपमहानगरपालिका कार्यालयले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई असोज ६ र ७ गते दुई दिन बन्द गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विज्ञहरूको पूर्वानुमानअनुसार भारी वर्षा, पहिरो, बाढी, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोध लगायतका जोखिम हुन सक्ने उल्लेख गरिएको छ।

सम्भावित जोखिमका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बन्द गर्न भनिएको हो। साथै, सुरक्षित विद्यालय भवनलाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी समन्वय र सहजीकरण गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ।

उपमहानगरपालिकाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन समेत आग्रह गरेको छ।

मुख्य निर्देशन

  • असोज ६ र ७ गते विद्यालय बन्द गर्ने।
  • विद्यार्थी, बालविकास शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्ने।
  • सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने।
  • बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरो जोखिमयुक्त क्षेत्रमा जान नदिने।
  • विपद्को अवस्थामा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने।819869983_2011936936189545_3406357541113157895_n-1790263432.jpg

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्