Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

इन्द्रावती थुनिएको ठाउँमा पहिरो खस्न रोकिएन, उच्च सतर्कता अपनाउन आग्रह

सोमबार, भदौ ३, २०८१

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी ३५ प्रतिशत जति थुनिएको छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ स्थित तिपेनीमा माथिल्लो भागबाट नदीको बहावमै अवरोध आउने गरी सुख्खा पहिरो खसेको हो। पहिरो खस्नेक्रम जारी रहेकाले राति थप वर्षा भएको खण्डमा उच्च जोखिम हुने हुँदा रातभरी नै निगरानी गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो।

पाँच पोखरी गाउँपालिकाका अध्यक्ष टासी लामाका अनुसार ५ मिटर जति इन्द्रावती नदी थुनिएको छ। एक छेउबाट पानी गइरहेकाले अहिले नै क्षति गराउने अवस्था नरहेको तर अर्को पहिरो खसेको खण्डमा भने पुरै थुनिनसक्ने उहाँले बताउनु भयो।

नदीमा अवरोध आएपछि अहिले तिपेनी र मेलम्ची बजारका बासिन्दा त्रसित बनेका छन्।​ स्काभेटरको सहयोगमा स्थानीय र सुरक्षा निकायले पहिरो हटाएर नदी खुलाउने प्रयास गरे पनि सम्भव नदेखिएको बताइएको छ।

नदी पुरै थुनिएमा तिपेनी र मेलम्ची बजारमा क्षति पुर्‍याउनसक्ने उनले बताए। स्थिति यसै भन्न सकिने अवस्थामा नरहेको अध्यक्ष लामा बताउनुभयो।

एक्कासी खोलिएमा ठूलो बाढी आउन सक्ने हुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं। ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं। ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
समाचार