‘निरन्तर शिक्षाका लागि पुस्तकालय’

आज सत्रौँ पुस्तकालय दिवस मनाइँदै

शनिबार, भदौ १५, २०८१

दाङ - आज सत्रौँ पुस्तकालय दिवस मनाइँदैछ । हरेक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम गरी देशभर पुस्तकालय दिवस मनाउने गरिन्छ । यसवर्ष ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाइँदैछ । २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सत्रौँ पुस्तकालय दिवसको अवसरमा दुई हप्ता अघिदेखि नै सरकारी एवम् गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम भइरहेको छ ।

सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा।दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसको मूल समारोहमा आज पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ ।

मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने तयारी छ । शिक्षा मन्त्रालयको २०७८र७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो ।

तीमध्ये अहिले दुई सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य ठाउँमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
समाचार