Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
समाज

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हिमपातको हर्ष

मंगलबार, मंसिर २५, २०८१

बझाङ - मुगुको छायानाथरारा–९ मुर्माका रनवीर रोकायाको मुहारमा धेरैपछि खुसी छाएको छ । लामो समयको खडेरीले गहुँ–जौलगायतका बाली सुक्न थालेपछि चिन्तित बनेका उनलाई सोमबार हिमपातले राहत दिएको छ । ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ रोकायाले भने, ‘हिमपातले सुबिकालको आशा पलाएको छ ।’

कर्णालीमा यो वर्षको हिमपात सोमबारदेखि सुरु भएको हो । सोमबार हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत जिल्लामा बाक्लो हिउँ परेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सरोज कँडेलले सदरमुकाम सिमकोटमा झन्डै १ फिट र लिमीलगायत उच्च हिमाली बस्तीमा ३ फिटसम्म हिमपात भएको बताए । ‘हिमपातका कारण सोमबार कुनै पनि हवाई उडान हुन सकेनन् भने हिउँ परेपछि गाउँ सुनसान बनेको छ । स्थानीयहरू आगो तापेर घरभित्रै बसिरहेका छन्,’ उनले थपे, ‘सोमबार बिहानैदेखि हिमपात जारी छ, अवस्था सामान्य हुन कम्तीमा एक साता लाग्ला ।’

कर्णालीको हिमाली जिल्ला मुगुमा पनि भारी हिमपात भएको छ । हिमपात भएपछि मुगुको रारा, मुर्मा, मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, सोभा, बाम, खमाले, पापु, चिमाथलगायत बस्ती सेताम्मे बनेका छन् । हिउँ परेपछि अन्नबाली, तरकारी र स्याउलगायत बालीको उत्पादन बढ्ने भएपछि किसान उत्साही छन् । बालीमा रोगकिराको प्रकोप कम हुने र उत्पादन बढ्ने भन्दै किसानले हिमपातलाई सुबिकालका रूपमा लिने गरेका छन् । ‘ढिलै भए पनि हिउँ पर्‍यो,’ सोरु गाउँपालिका–६ सोरुकोटका पदम शाहीले भने, ‘अब अन्न र स्याउ, ओखर आरु, चुलीलगायत फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ उनले अहिले भएको हिमपातले झन्डै डेढ महिना जमिनमा चिस्यान रहने बताए ।

५ वर्षयता हिउँ कम पर्न थालेको छायानाथरारा नगरपालिका–३ का किसान कम्मरसिंह खड्काले बताए । ‘हिउँ परे अन्न बेसाउनु पर्दैनथ्यो,’ उनले भने, ‘हिमपात बढी भएको साल आफ्नै उत्पादनले जीविका चल्छ ।’ हिमपात भएपछि यो वर्ष यार्चाको उत्पादन पनि राम्रो हुनेमा उनी आशावादी देखिए । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा करिब आधा फिटसम्म हिउँ जमेको छ । हिमपात भएपछि रारा घुम्न आएका झन्डै ५ दर्जन आन्तरिक पर्यटक हिउँ खेल्दै रमाएका छन् । यो वर्ष रारामा पनि पहिलोपल्ट झन्डै आधा फिट हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताए । ‘राराक्षेत्र जताततै सेताम्मे छ,’ उनले भने, ‘पर्यटकले अझै १५ दिनसम्म हिउँको आनन्द लिन सक्छन् ।’

हिमपातका कारण जनजीवन प्रभावित भए पनि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । बर्सेनि हिमपात कम हुँदै गए पनि यसपालि पहिलोपल्ट नै पर्याप्त हिउँ परेको हुम्लाको सिमकोट गाउँपालिका–६ की ६१ वर्षीय उम्मकला रावतले बताइन् । ‘बाली सपार्न हिउँकै प्रतीक्षामा थियौं,’ भनिन्, ‘लामो खडेरीका कारण लगाएको बाली सुकेको थियो, अब उब्जनी बढ्ने आश छ ।’ हिमपात भएपछि घरभित्रै आगो तापेर बसेको उनले बताइन् । उनका अनुसार अधिकांश क्षेत्र हिउँले ढाकिएपछि पशुचौपायालाई गोठभित्रै बाँधेर राख्नुपर्ने बाध्यता छ । हिउँ परेपछि कर्णालीका हिमाली जिल्लाहरूमा सोमबार हवाई उडान ठप्प रहे ।

हिमपातले बाजुराको यातायात अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आइतबार रातिदेखि वर्षासँगै हिमपात भएको छ । डडेलधुरा, दार्चुला, बैतडी, बझाङ, बाजुरा, डोटी र खप्तड क्षेत्रमा बाक्लो हिमपात भएको हो । बाजुराको पोरखे लेकमा भएको हिमपतका कारण कोल्टी र सदुमरकाम मार्तडीको सडक यातायात अवरुद्ध भएको छ । बाजुराका प्रहरी प्रमुख दिलीपकुमार गिरीका अनुसार त्यस क्षेत्रमा यातायातका साधनहरू सञ्चालन हुने अवस्था छैन ।

बैतडीको खोड्पे, ग्वाल्लेक खोड्पे, अनारखोली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीय बासिन्दाहरूले बताएका छन् । डडेलधुराको साहुखर्क, हगुल्टे

क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीय बासिन्दाहरूले जनाएका छन् । यस्तै, डोटीको बडीकेदार, अछामको रामारोशन र खप्तड क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । हिमपात भएका क्षेत्रमा जाडो बढेको छ ।

धर्ती भिज्यो, अब बाली सप्रेला’

सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सोमबार हिमपात भएको छ । बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो । हिउँदे बाली लगाएर वर्षाको आशामा रहेका किसानलाई हिमपातले खुसी बनाएको छ ।

अघिल्ला हिउँदमा लामो खडेरीको चपेटामा परेका किसानहरू सोमबार बिहानदेखि सुरु भएको वर्षासँगैको हिमपातले हिउँदे बाली सप्रिने आशामा किसानहरू हर्षित भएका हुन् । ‘५र६ वर्ष भइसक्यो, समयमै हिउँ नपरेर हिउँदे बाली गतिलो भएको थिएन । यस वर्ष मंसिरमै हिउँ पर्‍यो,’ बझाङ बित्थड चिरका किसान मानबहादुर बोहराले भने, ‘यो वर्ष राम्रो हिउँ पर्छ भन्ने आशा छ ।’ उनले मंसिरमा नै हिउँ पर्न सुरु हुनु हिउँदभरि पर्याप्त हिमपात हुने संकेत भएको बताए ।

बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताए । यद्यपि बस्ती क्षेत्रमा भने हल्का हिउँ जमेको देखिन्छ । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

बाजुराको गौमुल, बुढीनन्दा, हिमालीलगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले जानकारी दिए । ‘अघिल्ला वर्षजस्तै खडेरी पर्छ कि भनेर डराएका किसानलाई हिमपातले ठूलो राहत दिएको छ,’ बाजुरा कोल्टीका अनिल शाहीले भने, ‘धर्ती भिजेपछि आकाशेपानीको भरमा खेती लगाएका किसानहरू छरेको बीउ उम्रिने आशाले खुसी भएका छन् ।’

वर्षासँगै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । यस्तै डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टे, डोटीको खप्तड क्षेत्रमा पनि हिमपात भएको स्थानीयले जानकारी दिए । हिमपात र वर्षाका कारण बढेको चिसोका कारण जनजीवन भने प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोका कारण बाहिर हिँडडुल गर्न र नियमित काम गर्न पनि असहज भइरहेको देखिन्छ । स्थानीय आगो तापेर घरमै बसिरहेका छन् ।

हिमपातका बेला समूहमा आगो ताप्ने, भुम्ला ९गेडागुडीको झोल० तथा फर्सी आदि पकाएर खाने यहाँका स्थानीयको प्रचलन छ । साभार कान्तिपुर

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्