Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराही महोत्सवमा आज राजन शिवाकोटीसहितका कलाकारको प्रस्तुति

शनिबार, फागुन ३, २०८१

दाङ - दाङको घोराहीमा हिजोदेखि सञ्चालनमा आएको छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा आज (शनिबार) राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति हुने भएको छ।

‘उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराही–१४ झिंगौरामा सञ्चालित महोत्सवमा आज गायक राजन शिवाकोटी, उद्घोषक तथा गायक चन्द्र शर्मा, गायिका रिता के.सी., अनु अधिकारी, डान्सर अस्मिता पुरी, प्रेम शर्मा, सुदन थापा, राजेन्द्र चौधरी लगायतका स्थानीय कलाकारहरू प्रस्तुत हुनेछन्।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक महेन्द्र बुढाथोकीका अनुसार दैनिक सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय कलाकारहरूसँगै दंगाली कलाकारहरूका लोकसंस्कृति झल्किने प्रस्तुति रहनेछ।

महोत्सवमा लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार तथा सान्त्वना पुरस्कारका रूपमा १५ हजार नगदसहित मेडल र शिल्ड प्रदान गरिनेछ।

त्यसैगरी, विद्यालयस्तरीय नृत्य र कविता प्रतियोगिता, खुला लोक नृत्य प्रतियोगिता र जोडी नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ। ती प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिनुभयाे।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्