Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराही महोत्सवमा आज भूमिका गिरि सहितको धमाकेदार प्रस्तुति रहने

सोमबार, फागुन ५, २०८१

५ फागुन, दाङ - घोराही उपमहानगरपालिका–१४, झिँगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा आज साेमबार राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ।

महोत्सवको सांगीतिक माहोललाई थप रंगीन बनाउन चर्चित लोक तथा दोहोरी कलाकारहरू भूमिका गिरि, खुमन अधिकारी र सिर्जना खत्रीले स्टेजमा प्रस्तुति दिनेछन्।

‘स्टेज क्वीन’को रूपमा आफूलाई स्थापित गर्न सफल गायिका भूमिका गिरिले ‘उजेली जुनेली’, ‘देउरालीमा’, ‘रंग रसैमा’, ‘चोली मैलो भो’, ‘बुट्टा भरेको’, ‘तिउन मिठो बनायो चुकैले’, ‘हङकङको चुरोट गोरखपुरको सलाई’, ‘तारा संगै जुन’ जस्ता चर्चित गीतहरू सुनाउनेछिन्।

त्यस्तै, आफ्ना हिट गीतका कारण दर्शकको मन जित्न सफल गायक खुमन अधिकारी र लोकप्रिय गायिका सिर्जना खत्रीले पनि  धमाकेदार प्रस्तुतिबाट दर्शकलाई नचाउनेछन्।

महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त जोशिलीले भनुभयो, “आजको दिन सांगीतिक हिसाबले विशेष रहनेछ। तीनजना चर्चित कलाकारको प्रस्तुतिले महोत्सवमा आउने दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने विश्वास लिएका छौं।”

प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिता र विविध प्रतियोगिता

महोत्सवमा लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिएको छ। लोक संस्कृतिको संरक्षण र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिने प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २५ हजार र सान्त्वना पुरस्कारस्वरूप १५ हजार नगद, मेडल र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, विद्यालयस्तरीय नृत्य र कविता प्रतियोगिता तथा खुला लोक नृत्य र जोडी नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ। नृत्य प्रतियोगितामा पनि उत्कृष्ट हुनेलाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिनुभयाे।

उद्योग, व्यापार, कृषि र पर्यटन प्रवर्द्धन गर्दै परनिर्भर अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव फागुन १८ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्