Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराहीमा डोकोमा बिरामी ओसार्ने दिन गए, सबै ठाउँमा सडक पुगे : मेयर चौधरी

बुधबार, चैत १३, २०८१

दाङ १३ ,चैत्र - घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अब घोराहीमा डोकामा बिरामी ओसार्ने बाध्यता नरहेको बताएका छन्। १९ वडा रहेको यो उपमहानगरपालिकामा सबै क्षेत्रमा सडक सञ्जाल विस्तार भइसकेको र एम्बुलेन्स सेवाले सहजता प्रदान गरेको उहाँले बताउनुभयाे ।

'विगतमा बिरामी डोकामा ओसार्नुपर्ने बाध्यता थियो। अहिले विकासमा धेरै फड्को मारेका छौँ। अहिले सबै ठाउँमा बाटो पुर्‍याएका छौँ। एम्बुलेन्स पुगेको छ,' कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थय’ विषयक अन्तर्क्रिया कार्यक्रमको 'दोस्रो सत्र : उपमहानगरको उन्नति’ शीर्षकमा बोल्दै चौधरीले भने, 'अब डोकामा बिरामी ओसार्नुपर्ने बाध्यता अन्त्य भयो।'

सडक जस्तै अन्य क्षेत्रमा पनि धेरै विकास भएको उहाँले बताउनुभयाे। चौधरीका अनुसार विगतमा घोराही सुख्खा क्षेत्र थियो। वर्षातको बेला मात्रै खेतीपाती हुन्थ्यो।

'बहुउद्देश्य हिसाबले पानी जम्मा गरेर विकास, समृद्धि र रोजगारी सिर्जना गर्न अगाडि बढ्यौँ। अहिले ४३ वटा कृत्रिम जलाशय निर्माण भएको छ। लिफ्ट सिँचाइ र सतह सिँचाइ पनि हुन्छ,' चौधरीले भन्न्भयाे, 'ठूला जलाशयमा ११ किलोसम्मका माछा छन्।'

त्यस्तैगरी जलाशयको वरिपरि पर्यटक आउने र ती क्षेत्रमा होटल पनि सञ्चालनमा आएको उहाँले बताउनुभयाे। 'विदेश जाने युवा स्वदेशमै तरकारी खेतीमा लागेका छन्। विदेश जाने संख्या पनि घटेको छ,' उहाँले भन्न्भयाे, 'यी मात्रै होइनन्, जलाशयले जमिनलाई रिचार्ज गरेको छ। डिप बोरिङ र इनार पनि सुकेका छैनन्। खानेपानीमा सहयोग पुगेको छ। जलवायु परिवर्तनमा पनि सन्तुलन ल्याएको छ।'

ठूला खोलाहरू थुनेर ढुंगा, गिटी, बालुवा, र पानीको सदुपयोग गर्न सकिने घोराहीको अवधारणा रहेको उहाँले बताउनुभयाे। 'अगाडिबाट थुनेपछि गगर्यान आएर अडिन्छ। १२ महिना प्रयोग गर्न सकिन्छ। भारततिर बग्ने बालुवा, गिटी पनि प्रयोग गर्न सकिन्छ। बाँध बनाएर पानीको सदुपयोग गरेर माछा उत्पादन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने हाम्रो अवधारणा हो,' उहाले भन्नुभयाे।

सफाइको क्षेत्रमा फोहोरलाई मोहरमा परिणत गर्ने क्रममा मल र ग्यास उत्पादनको काम भइरहेको उनले जानकारी दिनुभयाे। यी बाहेक सडकमा हिंड्ने गाईवस्तु, अनाथ बालबालिका, र माग्ने व्यक्तिहरूलाई पनि व्यवस्थापन गरिएको उहाँले बताउनुभयाे।

'गाईवस्तुको लागि चाग्लीघाटमा व्यवस्थापन गरेका छौँ। माग्ने व्यक्तिका लागि समाज कल्याण संस्थासँग समन्वय गरेका छौँ,' उहाँले  भन्नुभयाे, 'बालमैत्री नगर घोषणा भएअनुसार, अब बालबालिकालाई पैसा माग्न वा चोर्न पर्दैन। पढ्नका लागि शान्ति बाल गृहसँग सहकार्य गरेका छौँ।'  साभार : कान्तिपुर

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्