शैक्षिक सुधार गर्न सिकाई र परीक्षा प्रणाली सुधार्दै छौ : नगरप्रमुख चौधरी

जनता मावि बुकाको ६६ औँ बार्षिक उत्सब
शनिबार, जेठ १७, २०८२

दाङ - घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय बुकाको ६६ औँ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम घर्तीको अध्यक्षता तथा उपमहानगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे तथा वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि चौधरीले शैक्षिक क्षेत्रलाई सबल बनाउन उपमहानगरले परीक्षा प्रणालीमा सुधार ल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले अब परीक्षा प्रणालीलाई मात्रै होइन, सम्पूर्ण शैक्षिक प्रणालीलाई व्यवस्थित गर्न थालिसकेका छौं त्यसका लागि २०८१ मा हामीले कक्षा ८ को परिक्षा अन्तर विद्यालय गराएर शिक्षक विद्यार्थीको शैक्षिक अबस्था जाँचेका छौ । केवल अंकको आधारमा होइन, उनीहरूको समग्र क्षमता विकासमा जोड दिने नीतिगत सुधार गरिरहेको उल्लेख गर्नुभयो ।

आगामी बर्ष देखि कक्षा ५ को परिक्षाको मोडेल परिबर्तन गर्ने सोच रहेको बताउनुभयो । बाल शिक्षा तहबाटै शिक्षण सिकाईमा सुधार ल्याउने गरी नगरले योजना बनाएको समेत जानकारी दिनुभयो । 

नगरप्रमुख चौधरीले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन शिक्षक तालिम, नियमित अनुगमन तथा मूल्यांकन प्रणालीमा पारदर्शिता ल्याइएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीको भविष्य निर्माणमा विद्यालय र अभिभावकको संयुक्त भूमिकाको खाँचो औंल्याउँदै समुदायमैत्री शिक्षा प्रणाली विकास गर्न उपमहानगर प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले विद्यालयको निरन्तर प्रगतिमा शिक्षक, अभिभावक र स्थानीय सरकारको साझा प्रयासले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

अर्का विशिष्ट अतिथि वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरीले वडाभित्रको शैक्षिक विकासमा जनता माविको अग्रणी योगदान रहेको उल्लेख गर्दै विद्यालयमा आवश्यक पूर्वाधारको व्यवस्थापनमा वडा कार्यालय निरन्तर साथ रहने बताउनुभयो ।

वार्षिक उत्सव समारोहमा परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकहरु शान्ता अर्याल, सरोज पाण्डे र भावना चौधरीलाई सम्मान गरिएको छ । त्यसैगरी, विद्यालयलाई सहयोग गर्ने र अक्षकोष स्थापना गर्नेहरुलाई पनि सम्मान गरिएको छ । पुरस्कारले शिक्षकहरूमा थप प्रेरणा मिलेको र आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम घर्तीले विद्यालयको ऐतिहासिक पृष्ठभूमि, हालसम्मका उपलब्धि र आगामी योजनाहरू प्रस्तुत गर्दै सबैको सहकार्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आआफ्ना कला प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक पुस्करनाथ अधिकारीले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अबस्थाका बारेमा जानकारी दिनुभयो ।

सहायक प्रधानाध्यापक पूर्णप्रसाद पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजिकरण शिक्षक शान्ता अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
समाचार