Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल निर्माणका लागि ७० करोड विनियोजन

मंगलबार, जेठ २०, २०८२

दाङ, २० जेठ - घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि ७० करोड बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि सो रकम बजेट विनियोजन गरेको हो ।

आर्थिक वर्ष ०८२÷०८३ मा विनियोजन गरेको ७० करोड र गत वर्षको मौजाद रकम १७ करोड गरेर प्रतिष्ठानसँग करिब ८७ करोड रुपैयाँ बजेट रहेको र उक्त बजेटबाट अस्पतालको भवन निर्माणको प्रक्रिया सुरु गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको चार सय बेडको नयाँ भवन निर्माणका लागि चार अर्ब ५१ करोडको लागत स्टिमेट तयार भएको र आगामी वर्षका लागि बजेट सुनिश्चितता गर्दै अस्पताल भवन निर्माणको प्रक्रिया सुरु गरिने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिएका छन् ।

‘प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो ९६ अर्बको बजेट सिलिङभित्र पारेर प्रतिष्ठानका लागि ७० करोड रुपैयाँ विनियोजन गरेको छ’, प्रतिष्ठानका रजिस्ट्रार लम्सालले भने,‘अस्पताल निर्माणका लागि मन्त्रालयसँग स्वीकृतिसँगै आगामी वर्षका लागि बजेटको स्रोत सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया थाल्छौँ ।’ यी सबै प्रक्रिया सकेर आगामी साउनभित्रै भवन निर्माणका लागि टेन्डर निकाली सक्ने तयारीमा आफूहरू रहेको उनले बताए । रजिस्ट्रार लम्सालका अनुसार स्रोत सुनिश्चितता भएपछि प्रतिष्ठानकै ट्राफिक चोकमा भएको करिब दुई बिघा जग्गामा भवन निर्माणको काम सुरु हुनेछ ।

रजिस्ट्रार लम्सालले प्रतिष्ठानको अस्पताल भवन निर्माणका लागि बजेट विनियोजन गरिदिने स्वास्थ्यमन्त्री प्रदीप पौडेल र अर्थमन्त्री विष्णु पौडेलप्रति आभार व्यक्त गरेका छन् । प्रतिष्ठानले अहिले शैक्षिक कार्यक्रम अन्तर्गत एमबिबिएस, बिएसी नर्सिङ, बिएनएस कक्षालगायतका विषयमा अध्यापन गराउँदै आएको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नका लागि चार सय बेडको अस्पताल आवश्यक भए पनि अहिले प्रतिष्ठानले तीन सय २२ बेडबाट सेवा दिदै आएको छ र विद्यार्थीले त्यही आफ्नो प्रयोगात्मक अध्ययन गर्दै आएका छन् ।
प्रतिष्ठानले सामुदायिक सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय बेडको अस्पताल निर्माणका लागि ७० करोड विनियोजन अन्तर्गतसमेत विभिन्न स्थानीय तहसँग सहकार्य गरेर सेवा दिँदै आएको छ । प्रतिष्ठानबाट जनशक्ति, प्रदेश सरकारबाट उपकरण र सम्बन्धित स्थानीय तहबाट बजेटको व्यवस्था गरेर रोल्पाको रुन्टिगढी गाउँपालिकाको होलेरी स्वास्थ्यचौकीबाट सुरु भएको सामुदायिक स्वास्थ्य सेवा अहिले रोल्पाकै त्रिवेणी गाउँपालिकाबाट समेत सुरु भएको उनले बताए ।

स्थानीय तहलाई १५ श्ययाको अस्पताल सञ्चालन गर्न समस्या भइरहेको समयमा प्रतिष्ठानले रोल्पाको होलेरी स्वास्थ्यचौकीबाट सुरुवात गरेको यो सेवा प्रभावकारी देखिएकाले आगामी आर्थिक वर्ष दाङको बंगलाचुली गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकामा समेत सञ्चालन गर्ने गरी कुरा भइरहेको रजिस्ट्रार लम्सालले जानकारी दिएका छन् । प्रतिष्ठानले फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग, न्युरो, युरोलगायतका विशेषज्ञसहितको सेवा प्रदान गर्दै आएको छ । मुटु रोगको उपचारको लागि करिब १० करोडको क्याथेल्याब मेसिन पनि खरिद गर्न टेण्डर भइसकेको र मेसिन आएपछि मुटु रोग विशेषज्ञ राखेर उपचार दिन सुरु गरिनेछ ।‘प्रतिष्ठानले आगामी आर्थिक वर्ष मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गर्नेछ’, प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।
 
प्रतिष्ठानले थप्दै शैक्षिक कार्यक्रम 
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भौतिक पूर्वाधारसँगै शैक्षिक कार्यक्रम थप्दै लगेको छ । प्रतिष्ठानलाई उपचार सेवासँगै अध्ययन तथा अनुसन्धान क्षेत्रमा अघि बढाउन नयाँ शैक्षिक कार्यक्रमहरू थप गर्न थालेको हो । प्रतिष्ठानले आगामी आर्थिक वर्ष ०८२÷०८३ मा थप चार वटा स्नातक तहका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षदेखि स्नातकतर्फ बिएमएलटी, बिएमआइटी, बिपिएच, बिअप्टोमेट्री कार्यक्रम सुरु गर्ने तयारी गरेको प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले जानकारी दिएका छन् ।

अहिले प्रतिष्ठानले एमबिबिएस, बिएसी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसीलगायतका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ र त्यहाँ करिब दुई सय जना विद्यार्थी अध्ययनरत छन् । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसँगै भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक कार्यक्रमहरू थप गर्दै लगेको प्रतिष्ठानका रजिस्ट्रार लम्सालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्