चार वायु प्रणाली सक्रिय, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

शुक्रबार, असार ६, २०८२

काठमाडौँ ,६ असार - नेपालमा हाल मनसुनी वायुसहित चार प्रकारका वायुप्रणाली सक्रिय रहेका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव सक्रिय छ। लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि यसको आंशिक प्रभाव परेको जनाइएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

यसका साथै, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि असर परेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थान र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ भने कोशी र मधेस प्रदेशका तराई भूभागमा हवाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागमा केही स्थान र अन्य भागहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना यथावत् रहने महाशाखाले जनाएको छ।

सावधानी अपनाउन आग्रह
भारी वर्षाको सम्भावनाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्