११ औं अन्तर्राष्ट्रिय योग दिवस: 'सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग'

शनिबार, असार ७, २०८२

काठमाडौँ, ७ असार - ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नारासहित शनिबार ११ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। यस वर्षको दिवसले योगलाई केवल स्वास्थ्य अभ्यासको रूपमा नभई पृथ्वीको समग्र स्वास्थ्यसँग समेत जोड्ने प्रयास गरेको छ।

योग गुरु विष्णु खड्काका अनुसार योगले शारीरिक, मानसिक र आत्मिक रूपमा मात्र होइन, प्रकृतिसँग पनि सन्तुलन कायम गर्न सघाउँछ। "योगको अर्थ नै हो ‘जोड्नु’, र त्यो जोड आत्मा, शरीर र सृष्टिसँगको समन्वय हो," उहाँको भनाइ छ।

उहाँका अनुसार, शरीर दुई प्रकारका हुन्छन्— स्थूल र सूक्ष्म। स्थूल अर्थात् बाह्य शरीरलाई सरसफाइले सफा गर्न सकिए पनि सूक्ष्म शरीरलाई भने योग र ध्यानमार्फत मात्र स्वस्थ राख्न सकिन्छ। उहाँले तुलना गर्दै भन्नुभयो, "जसरी कम्प्युटरमा भाइरस लाग्दा भित्रैबाट सफा गर्नुपर्छ, त्यसैगरी मानिसको भित्री संरचनामा योग प्रतिजैविक जस्तै हो।"

अष्टाङ्ग योग, जसमा प्राणायाम र शारीरिक अभ्यास समावेश हुन्छ, जीवनमा सन्तुलन ल्याउने अद्भुत उपाय भएको बताइन्छ। ध्यान र योगको अभ्यासले मानिसलाई शारीरिकरूपमा तन्दुरुस्त र मानसिकरूपमा स्थिर बनाउने विश्वास व्यापक बन्दै गएको छ।

अहिले योगप्रतिको आकर्षण सबै उमेर समूहमा फैलिएको छ। बालबालिका, किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म योगप्रति आकर्षित छन्। रोग लागेपछि उपचार गर्नु भन्दा अघि नै रोग नलाग्ने उपायको रूपमा योगलाई लिने धारणा समाजमा बलियो हुँदै गएको खड्काले बताउनुहुन्छ।

विशेषगरी कोरोना महामारीपछिको समयमा नेपाली समाजमा योग र ध्यानप्रति झनै आकर्षण बढेको छ। “दबाइले रोग दबाउँछ, योगले रोग भगाउँछ भन्ने चेतना अब विस्तार हुँदैछ,” उहाँको भनाइ छ।

सेलेब्रेसन मेडिटेसन सेन्टरका आचार्य महेन्द्र वाशिष्ठले योग अभ्यासलाई संस्थागत गर्न स्थानीय, प्रदेश र संघीय तहमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, योगलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा शान्ति र स्वास्थ्यसँग जोडेर अध्यापन गराउन सके दीर्घकालीन रूपमा समाजमा प्रभाव पार्न सकिन्छ।

आचार्य वाशिष्ठका अनुसार, आजको तनावपूर्ण युगमा योग आत्मिक शान्ति, सामाजिक सन्तुलन र मानसिक सुदृढताको माध्यम हो। तनाव, हिंसा र आत्महत्याको बढ्दो प्रवृत्ति कम गर्न योग अभ्यासको प्रसार अपरिहार्य भएको उल्लेख गर्दै उहाँले राज्यबाटै पहल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्
समाचार