देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

मंगलबार, असार १७, २०८२

काठमाडौं, १७ असार – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल पश्चिम नेपालको केही नजिक उत्तरतर्फ सरको छ, जसको प्रभाव देशभर देखिएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भएको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा वर्षासहित हिमपात हुने अनुमान गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भेगका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा सम्भावित रहेकोले नदीमा पानीको सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्