राप्तीका अध्यक्ष विष्टद्वारा आफूले पाउने सेवा–सुविधाको रकम दुर्गा भवानी विद्यालयलाई बीउ पुंजीका रूपमा प्रदान

मंगलबार, पुस २९, २०८२

मसुरिया, २९ पुस - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं. ३ मसुरियामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयलाई बीउ पुंजीका रूपमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

उहाँले विद्यालयको शैक्षिक तथा रचनात्मक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले जनप्रतिनिधि भएर आफूले पाउने सेवा–सुविधाको रकम उक्त सहयोगका लागि प्रदान गर्नुभएको हो।a

मङ्गलबार विद्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष विष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारी र प्रधानाध्यापक केशवराज आचार्यलाई ५१ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो।

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले विद्यालयहरुलाई उत्पादन कारखानाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले दुर्गा भवानी आधारभूत विद्यालयले विद्यार्थीहरूलाई पठनपाठनसँगै सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो।

अध्यक्ष विष्टले विद्यार्थीहरूको प्रतिभा विकास, सिर्जनशीलता अभिवृद्धि र हौसला बढाउने उद्देश्यले बीउ पुंजीको रूपमा सहयोग गरिएको बताउनुभयाे। “विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक र सिर्जनात्मक क्रियाकलापमा जोड्न सके भविष्यका लागि सक्षम नागरिक उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

त्यसैगरी उहाँले अब विद्यालयहरुले प्रमाणपत्र मात्र नभई सीप, आत्मनिर्भरता र उद्यमशील सोच उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “विद्यार्थीले पढ्दै कमाउने वातावरण नबनेसम्म शिक्षा समाजसँग जोडिँदैन,” उहाँले थप्नुभयो।

अध्यक्ष विष्टले आफूले पाउने सेवा–सुविधाको रकम यसअघि पनि विपन्न नागरिकको घर निर्माण, गम्भीर बिरामीको स्वास्थ्य उपचार, विद्यार्थीहरूको अध्ययन सहयोग लगायत सामाजिक काममा खर्च गर्दै आउनुभएको छ। 

विद्यालय परिवारले अध्यक्ष विष्टप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले शैक्षिक तथा रचनात्मक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्