Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

महिला विकासमा लगानी गर्नु आवश्यक छ स् राष्ट्रपति रामचन्द्र पौडेल

शुक्रबार, फागुन २५, २०८०

काठमाडौँ  - राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरेर लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो।

राष्ट्रपति पौडेलले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले उनीहरूको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पार्नुभयो। 

जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताबिना आर्थिक सशक्तीकरणका राष्ट्रिय आकाङ्क्षा पूरा हुन असम्भव प्रायः देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुनु अत्यावश्यक रहेकोसमेत बताउनुभयो। 

उहाँले सभ्य र समुन्नत समाज निर्माणमार्फत लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले महिलाले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरूको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गरौँ। सबैभन्दा बढी श्रम गर्ने वर्ग नेपालमा अपमानित नै रहेका छन्। त्यसकारण मैले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौँ। यो संस्कारको विकास गराउन मानसिकतामा परिवर्तन ल्याउने कुरा गरौँ। सोचमा परिवर्तन ल्याउने कुरा गरौँ। नेपालको संविधानले महिला उपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ। संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन। जसलाई पूरा गर्न तीन वटै तहका सरकारले नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नेमा म विश्वस्त छु। जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिता बिना आर्थिक सशक्तीकरणका राष्ट्रिय आकाङ्क्षा पूरा हुनु असम्भव प्रायः देखिन्छ।

महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सभ्य र समुन्नत समाज निर्माणमार्फत लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच प्राप्तिमा सबै क्षेत्रको निरन्तर सहयोग हुनु अत्यावश्यक छ। महिलाको हक, अधिकार स्थापना भएको आधार तय भएको दिनको रूपमा स्मरण गर्दै महिलाको सारभूत समानतासहितको लैङ्गिक समानतामूलक राष्ट्रको निर्माण यात्रामा अघि बढ्न आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो।  

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
समाचार