जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था गम्भीर

आइतबार, साउन ३, २०८३

चितवन,३ साउन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ अघि बढिरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ३० जनामध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। गम्भीर घाइतेको अवस्था चिकित्सकको निगरानीमा रहेको जनाइएको छ।

दुर्घटनापछि केही समय नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन प्रभावित भए पनि प्रहरीको सक्रियतामा दुर्घटनाग्रस्त सवारी हटाइएपछि सडक सञ्चालनमा आएको छ। हाल सवारीसाधनहरू सामान्य रूपमा गन्तव्यतर्फ सञ्चालन भइरहेका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्