सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं,२० असाेज - पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहेको मठ–मन्दिर, अर्चक, पुरोहित विभागले आपत्ति जनाएको छ।
विभागका राष्ट्रिय प्रमुख दीपक आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको उल्लेख गर्दै विभागले उक्त घटनालाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने गरी प्रवेश गर्नु तथा त्यससम्बन्धी भिडियो सार्वजनिक गर्नु उचित नभएको विज्ञप्तिमा उल्लेख छ।
विश्व हिन्दु परिषद् नेपाल मठ-मन्दिर, अर्चक, पुरोहित बिभागले उक्त घटनालाई सम्पूर्ण मुस्लिम समुदायसँग जोडेर नहेर्न समेत स्पष्ट गरेको छ। नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता तथा सबै धर्म र समुदायप्रतिको सम्मानमा आफूहरू विश्वास गर्ने उल्लेख गर्दै बिभागले धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा कायम रहेको धार्मिक नियम तथा परम्पराको उल्लङ्घन गर्ने अधिकार नभएको जनाएको छ।
घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन तथा व्यवस्थापन प्रणालीमाथि समेत प्रश्न उठाएको आचार्यको भनाइ छ। मन्दिरमा प्रवेशसम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै कसरी त्यस्तो प्रवेश सम्भव भयो, प्रवेशका क्रममा सुरक्षाकर्मी तथा कर्मचारीको भूमिका के थियो र घटनापछि तत्काल आवश्यक कारबाही किन भएन भन्ने विषयमा पशुपति क्षेत्र विकास कोषले सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने माग बिभागका राष्ट्रिय प्रमुख दीपक आचार्यको रहेको छ।
विश्व हिन्दु परिषद्ले पनि पटक पटक पशुपति क्षेत्र विकास कोषलाई मन्दिरको धार्मिक मर्यादा तथा परम्पराको संरक्षणमा गम्भीर हुन आग्रह गरेको छ। यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन, सुरक्षा तथा अनुगमन प्रणालीलाई कडाइ गर्न र दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्नसमेत माग गरिएको छ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत धार्मिक आस्था तथा विभिन्न समुदायबीच द्वेष उत्पन्न हुने किसिमका सामग्री प्रचारप्रसार नगर्न मठ-मन्दिर, अर्चक, पुरोहित बिभागले सबै पक्षलाई आग्रह गरेको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा पारस्परिक सम्मान कायम राख्नसमेत बिभागले अपिल गरेको छ।
पशुपतिनाथ नेपालको सनातन सभ्यता, संस्कृति, धार्मिक आस्था तथा पहिचानसँग जोडिएको महत्वपूर्ण धार्मिक सम्पदा भएकाले यसको धार्मिक मर्यादा, परम्परा र विशिष्टताको संरक्षण राज्य, सम्बन्धित निकाय तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व भएको बिभागको भनाइ छ।