छठ छठ
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पश्चिमी वायुको प्रभाव : हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आइतबार, कात्तिक २९, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं, २९ कार्तिक- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य पहाडी तथा तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति देशको हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावका कारण विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसम परिवर्तन भइरहने भएकाले सम्भावित वर्षा, हिमपात र चट्याङबाट सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्