Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीको धिमधिमे पर्यटकिय स्थलमा वृहत वृक्षरोपण सम्पन्न

बिहीबार, साउन २४, २०८१

दाङ - दाङको बंगलाचुली गाउँपालिकाको वडा नम्बर १ र २ को सिमानामा पर्ने धिमधिमे पर्यटकिय स्थलमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । धिमिधिमे पर्यटकिय स्थल संरक्षण समिति, दाङ जिल्ला उद्योग वाणिज्य संघ, प्रकृति संरक्षण समुह दाङ लगायतको संयुक्त आयोजनामा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

वृक्षरोपण कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकाले धिमधिमेलाई प्राकृति सँग सम्बन्धित पर्यटकिय क्षत्रको रुपमा अगाडि बढाउने योजना रहेको बताउनुभयो । उक्त क्षेत्र सँगै सिंगो बंगलाचुली गाउँपालिका नै पर्यटकिय सम्भावना बोकेकोले सोहि अनुसार अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले विरुवा रोप्नु मात्र नभइ यसलाई संरक्षण पनि गर्नुपर्नेमा जोड दिनुभयो ।साथै उहाँले सो स्थानमा आगामि दिनमा आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।बंगलाचुलीमा मुख्य समस्याको रुपमा रहेको सडक अवस्थालाई आफुहरुले नजिकबाटै बुझेको र छिटै वैकल्पिक सडकको व्यवस्था गरी यसको समाधान गर्ने उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले धिमधिमे पर्यटकिय स्थल दाङको सदरमुकाम घोराहीबाट छोटो दुरीमा पर्ने भएकोले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउनुभयो । यस्तै उहाँले उक्त क्षेत्रलाई सम्बन्धित वडा र सिंगो गाउँपालिकाले पनि संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसिले धिमधिमे सँगै समग्र बंगलाचुलीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरेमा सिंगो दाङ विकासमा मद्यत पुग्ने बताउनुभयो । बंगलाचुलीमा पर्यटकिय सम्भावना हुदा हुँदै पनि सडक संरचनाले असर गरेको र यसको समाधानमा संघ संस्था सँगै सरोकारवालाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले सडक संरचना राम्रो भएको खण्डमा घोराहीदेखि पनि बसाइ सरेर बंगलाचुलीमा आउने वातावरण तयार हुने उहाँले बताउनुभयो । बंगलाचुलीको विकासको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ सधैभरी तत्पर  रहेको समेत उहाँले बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा बंगलाचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकि, वडा नम्बर १ का अध्यक्ष विष्णु कवर, २ का अध्यक्ष मैते पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी, प्रकृति संरक्षण समुह दाङका पदाधिकारी, बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्यहरु विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वडा नम्बर १ र २ मा रहेका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु सहित स्थानियहरुको उपस्थित रहेको थियो । उक्त क्षेत्रमा साउन १६ गते पनि वृक्षरोपण गरिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
समाचार