Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश मोक्तानले पाए घरैमा नेपाली नागरिकता

आइतबार, भदौ १६, २०८१

भोजपुर - गोर्खाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश मोक्तानले नागरिकता बनाएका छन् ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’का पात्र प्रकाश मोक्तानलाई आइतबार षडानन्द नगरपालिका-१०, साङपाङस्थित उनको घरमै नेपाली नागरिकता हस्तान्तरण गरिएको हो ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले प्रकाशलाई नेपाली नागरिकता हस्तान्तरण गरे । वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा उनलाई इलाका प्रशासन कार्यालय दिङ्लाले नागरिकता दिएको हो ।

त्यसक्रममा प्रकाशको घरमा इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं पनि उपस्थित थिए ।


प्रकाश गत १३ भदौमा गोरखाको चुमभ्याली छाडेर घर फर्किएका थिए। काठमाडौंबाट जहाजमा तुम्लिङटार झरेर शनिबार घर पुगेका उनले अब गाउँमै बस्ने योजना बनाएका छन् । आफ्नो नाममा कुनै जग्गा नभएका उनलाई गाउँमै राख्ने तयारी गरिएको छ ।

उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको थियो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।

प्रकाशको घरमा पुगे षडानन्दका मेयर स् नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने
‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने
१० वर्षको उमेरमा घरबाट हिँडेका प्रकाश काठमाडौंबाट हराएका थिए । त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए । जहाँ उनले ३३ वर्षदेखि टासी लामाको गोठालोका रुपमा काम गरेर जीवन बिताए ।

लामो समय गोठालो जीवन बिताएर अनागरिक रहेका प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेका छन् । गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने तयारी भएको बताएका छन्।

षडानन्द नगरपालिकाका मेयर उदासले यसअघि नै साङ्पाङस्थित उनको घरैमा पुगेर नागरिकता बनाइदिने, बृद्ध बुवाको उपचार गरिदिने र गाउँमै रोजगारीका लागि पहल गरिदिने प्रतिबद्धता जनाएका थिए । जसअनुसार पहिलो चरणमा प्रकाशले नागरिकता बनाएका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
समाचार