Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्रै उडान भरिने

सोमबार, भदौ २४, २०८१

दाङ - दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्रै उडान भर्ने भएको छ । गएको हप्तादेखि प्रत्येक शुक्रबार मात्रै उडान भर्ने नेपाल बायु सेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनभुयो । उहाँका अनुसार अहिले नेपाल एयरलाईन्सको एउटा मात्रै जहाज भएकाले शुक्रबार मात्रै उडान भर्नेछ ।

एउटा जहाज ‘ग्राउन्डेट’ भएकाले त्यो जहाज मर्मत भएमा भने हप्ताको सातै दिन सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।“हप्तामा सातै दिन चलाउने कुरा हो, तर, अहिले नेपाल एयरलाईन्ससंग एउटा मात्रै जहाज छ, एउटा जहाज ग्राउन्डेट छ”,उहाँले भन्नुभयो“त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्रै चलाउने कुरा छ ।”

अहिले प्रत्येक शुक्रबार दिउसो १२ बजे टरिगाउँ आउने र १२ः २० मा फर्किने उहाँले बताउनुभयो । हाल दाङबाट काठमाडौं जाँदा ७ हजार एकसय लाग्ने भाडा लाग्छ, भने काठमाडौंबाट दाङ आउँदा ७ हजार दुईसय ५० भाडा लाग्ने उहाँले बताउनुभयो।

अहिले दाङबाट काठमाडौं जानकालागि यात्रु नपाउने अबस्था रहने गरेको छ । जहाज नियमित नहुँदा पनि यात्रु भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उहाँको भनाई छ । यस अघिको शुक्रबार दाङबाट काठमाडौं जाँदा एकजना मात्रै यात्रु थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन । तर, अब त्यसो नहुँने प्रमुख सुनारले बताउनुभयो ।

उक्त विमानस्थलाई नियमित बनाउनकालागि पटक–पटक आवाज पनि उठ्ने गरेको छ । तर, पनि नियमित हुन सकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । ७५० मिटर लम्बाई रहेको धावन मार्ग हुँदा अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । यसलाई बढाएर १५ सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ । साभार दाङलाइभ

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
समाचार