Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रोल्पाको होलेरीमा विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुसी

मंगलबार, पुस ९, २०८१

दाङ  -  रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा शुभारम्भ गरेपछि स्थानीय नागरीकहरु खुसी भएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रारम्भ गरेपछि त्यहाँका जनतामा खुसियाली छाएको हो।

गाँउघरमै विशेषज्ञ चिकित्सक प्राप्त गरेपछि अव सामान्य उपचारका लागि घोराही धाउनुपर्ने वाध्यता हट्ने स्थानीयको विश्वास छ । रुन्टीगढी गाउँपालिका र प्रतिष्ठानको सहकार्यमा सेवा शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य दीपेन्द्र पुन मगर, प्रतिष्ठानका रजिष्ट्रार प्रा। श्याम लम्साल, प्रतिष्ठानका निर्देशक डा। जनार्दन पन्थी, गाउँपालिका अध्यक्ष जनक पुन मगर, उपाध्यक्ष सरिता के। सी।, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्री लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर होलेरीमा विशेषज्ञसहित सेवा शुभारम्भ गरिएको रजिष्ट्रार लम्सालले बताए । प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पामा पुसको १ गतेदेखि लागु हुने गरी एमबिबिएस डाक्टर पठाएको हो ।

प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबिएसको पढाइ सुरु गर्न थालेपछि रोल्पाको होलेरीमा एमबिबिएस डाक्टर पठाएको र गाँउमै स्थानीयले चिकित्सकबाट उपचार प्राप्त गरुन भन्ने उद्देश्यले सेवा शुभारम्भ गरिएको रजिष्ट्रार लम्सालको भनाइ छ ।

होलेरीमा एमबिबिएस चिकित्सकको व्यवस्था भएसँगै स्थानीयले विशेषज्ञ सेवा पाएको प्रतिष्ठानका निमित्त निर्देशक डा। जनार्दन पन्थीले बताउनु भयो।

एमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्यूनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको हो।

गत असारदेखि होलेरी अस्पतालमा एमबिबिएस चिकित्सक छैनन्। त्यसले गर्दा विरामीले सामान्य उपचारका लागि पनि दाङको घोराही आउनुपर्ने वाध्यता छ।

हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन्। तीमध्ये एक जनालाई निकट भविष्यमै रोल्पाका लागि खटाउने तयारी प्रतिष्ठानले गरेको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भए वमोजिम प्रतिष्ठानले चिकित्सकको ब्यवस्थापन गरेको हो । एमबिबिएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका स्थानीयले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनु भयो।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
समाचार