बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
अपराध

लोक सेवाको असफलताले निम्त्याएको बीभत्स घटना

बुधबार, पुस १०, २०८१

काठमाडौँ - आफ्ना सन्तति, परिवारका सदस्यका लोक सेवाको परीक्षा पास गरी सरकारी सेवामा पुगेको देख्ने हरेक अभिभावकको चाहना हुनु स्वाभाविकै हो तर यसैलाई अन्तिम विकल्पका रूपमा लिने र सफल नहुँदा जीवनलाई नै अर्थहीन ठान्न पुग्दा पारिवारिक वियोगका घटना हुने गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

शनिबार राति भक्तपुरको सूर्यविनायक–२, बालकोटस्थित फिकाधारामा यस्तै घटना भयो । विगत तीनरचार वर्षदेखि लोक सेवा परीक्षाको तयारी गरिरहेका मिलन आचार्यले सफलता हासिल गर्न नसकेपछि ५६ वर्षीय बुवा कुलप्रसाद आचार्य र २२ वर्षीय भाइ प्रवीण आचार्यको बीभत्स हत्या गरी आत्महत्याको प्रयास गरे ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख माधवप्रसाद बुढाथोकीका अनुसार मिलनले शनिबार राति खाना खाएर सुतेको अवस्थामा बुवा कुलप्रसादलाई डम्बेल र भाइ प्रवीणलाई सिलौटो प्रहार गरी हत्या गरे ।  बाबु र भाइको हत्यापछि बालकोटबाट फरार मिलनलाई प्रहरीले मङ्गलबार दिउँसो काठमाडौँको महाराजगन्जबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । परिसर प्रमुख बुढाथोकीका अनुसार आरोपित मिलनले बुवा र भाइको हत्या गरेको स्वीकार गरेका छन् ।

यस्तो थियो घटना

खोटाङको दिक्तेलस्थित रूपाकोट मझुवागढी–१ का मिलन र प्रवीन अध्ययनका सिलसिलामा भक्तपुरको बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका थिए ।

भाइ प्रवीणले कलेजको अध्ययन र दाजु मिलनले लोक सेवा परीक्षाको तयारी गर्दै आएका थिए । बुवा कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख रहेको खुलेको छ । सरकारी सेवामा प्रवेशका लागि मिलनले पटक पटक लोक सेवा परीक्षाको तयारी गर्दै आएको र पटक पटक असफल भएपछि निराश बनेका थिए ।

मिलनको असफलताले बुवा कुलप्रसादमा पनि मानसिक समस्या सुरु हुन थालेको थियो । स्कुटरको लाइसेन्स बनाउन भनी एक हप्ताअघि बालकोट आइपुग्नुभएका कुलप्रसाद निराश र चिन्तित देखिनुहुन्थ्यो । यसको असर भाइ प्रवीणमा पनि परेको थियो । गलत सङ्गतका कारण प्रवीणको पनि पढाइ खस्किँदै गएको देखेका मिलनले बुवा र भाइको हत्या गरी आफूले पनि आत्महत्या गर्ने गलत निर्णयमा पुगेको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ ।   

आरोपित मिलनले प्रहरीले सोधेका हरेक प्रश्नको सहज जवाफ दिएको र अवस्था हेर्दा मानसिक अवस्था पनि ठिकै जस्तो देखिएको प्रहरीले जनाएको छ । कुलप्रसाद र प्रवीणको शव पोस्टमार्टमका लागि प्रहरीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगेको छ भने मिलनले आत्महत्या प्रयास गर्दा चुँडिएको डोरी पनि घटनास्थलबाट बरामद गरेको जनाएको छ । आरोपित मिलनकी आमा खोटाङमा रहेको र बहिनी अध्ययनको सिलसिलामा विदेशमा रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्