Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो

सोमबार, माघ २८, २०८१

भालुबाङ, २८ माघ – दाङको राप्ती गाउँपालिकाले आफ्नै ऐतिहासिक, सांस्कृतिक, कृषि तथा पर्यटन विशेषता झल्काउने नयाँ प्रतीक चिन्ह (लोगो) आधिकारिक रूपमा प्रयाेगमा ल्याएको छ।

गाउँपालिकाको तेह्रौं कार्यपालिका बैठकले उक्त प्रतीक चिन्हलाई अनुमोदन गरेपछि यसको औपचारिक प्रयोग सुरु गरिएको हो।

गाउँपालिकाले नयाँ प्रतीक चिन्ह निर्माणका लागि विभिन्न सर्त तथा मापदण्डहरु निर्धारण गर्दै दुई पटक सूचना जारी गरे पनि साे अनुरूपको प्रस्ताव प्राप्त नभएपछि पालिकाका कर्मचारी मुमाराम भुसाल र नारायण बहादुर आरसीद्वारा तयार पारिएको डिजाइनलाई स्वीकृति दिइएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।

नयाँ प्रतीक चिन्हमा राप्ती गाउँपालिकाको
पहिचान, ऐतिहासिकता, जनजीवन, भूगोल, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा  पर्यटकीय कुराहरुलाई समेटिएको छ।

गाउँपालिकाले यी सम्पदाहरूलाई प्रमुख पहिचानका रूपमा स्थापित गर्दै विकास र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले नयाँ प्रतीक चिन्हले राप्ती गाउँपालिकाको मौलिक पहिचान उजागर गर्नुका साथै स्थानीय स्रोत, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले अबदेखि हरेक सरकारी तथा प्रशासनिक कार्यमा यो प्रतीक चिन्हलाई अनिवार्य रूपमा प्रयोग गर्ने जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
समाचार