Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुली गाउँपालिका सामाजिक सुरक्षा कोषमा सहभागी

बुधबार, फागुन १४, २०८१

दाङ,१४ फागुन - दाङको बंगलाचुली गाउँपालिका औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा सहभागी भएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न बंगलाचुली गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौता सम्पन्न भएको छ।480869201_1337878740737123_5699994808060606366_n-(1)-1740551751.jpg
बंगलाचुली गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष तुल्सीराम पुन मगर र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले सम्झौतामा संयुक्त हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार बंगलाचुली गाउँपालिकाले औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

नेपालको संविधानअनुसार प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रदान गरिएको छ। २०७४ सालमा जारी गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले श्रमिकहरूको हितलाई सुरक्षित गर्न विभिन्न सुरक्षा योजनाहरूको व्यवस्था गरेको छ। सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, बेरोजगारी सहायता जस्ता योजनाहरू सञ्चालन गर्दै आएको छ।

सम्झौताअनुसार बंगलाचुली गाउँपालिकाले औपचारिक क्षेत्रमा रहेका प्रतिष्ठान तथा रोजगारदाताहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सहजीकरण गर्नेछ। त्यस्तै, अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पहिचान गरी उनीहरूलाई कोषमा सूचीकृत गराउने, आवश्यक सहयोग प्रदान गर्ने तथा न्यूनतम योगदान सुनिश्चित गर्ने जिम्मेवारी पालिकाले लिनेछ। स्वरोजगार क्षेत्रमा रहेका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षामा समेट्न पालिकाले पहल गर्नेछ।

यो सम्झौताले बंगलाचुली गाउँपालिकाका दैनिक ज्यालादारी श्रमिक,वैदेशिकरोजगारीमा गएका नागरिक, गाउँपालिका मातहतका सरकारी अस्थाई तथा करार कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सामावेस गराई सेवासुविधा प्रदान गरिने गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
समाचार