राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई

बुधबार, फागुन २, २०८०

पर्वत - पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकी नदीमा भएको राष्ट्रिय र्‍याफ्टिङ  च्याम्पियनसिपको उपाधि प्याडल नेपालले हात पारेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकी नदीमा चार दिनसम्म आयोजित च्याम्पियनसिपमा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अङ्क प्राप्त गर्दै उपाधि हात पारेको हो। पोखरामा रहेको प्याडल नेपालले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अङ्क बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले जानकारी दिए।

यस्तै प्रतियोगितामा सहभागी भोटेकोसी ‘बी’ उपविजेता बनेको छ। भोटेकोसी समूहले समग्र चार वटा इभेन्टमा ९४२ अङ्क प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेको छ। प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएका प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए। उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ‘ए’ टिम पहिलो हुँदा भोटेकोसी ‘बी’ दोस्रो र बागमती प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ।

र्‍याफ्टिङ सालोलमतर्फ भोटेकोसी ‘बी’ विजेता बनेको छ भने प्याडल नेपाल ‘ए’ टिमले दोस्रो र बागमती प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ। डाउन रिभर र सालोलमतर्फका विजेताहरूले मेडल तथा प्रमाणपत्रका साथमा क्रमशः जनही नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

कालीगण्डकी नदीलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा र्‍याफ्टिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा सात वटै प्रदेश, विभागीय टिम र अन्य क्लबहरूको समेत सहभागिता रहेको थियो।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्