Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती ३ को उदाहरणीय अभ्यास : योजना भुक्तानी अघि उजुरी दिन आग्रह

मंगलबार, चैत १२, २०८१

मसुरीया, १२ चैत - दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ ले योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता कायम राख्न नयाँ अभ्यास सुरु गरेको छ।

वडाले कुनै पनि योजना भुक्तानी अघि सो योजना सम्बन्धमा कुनै गुनासो, सुझाव वा उजुरी भएमा तीन दिनभित्र लिखित रूपमा वडा कार्यालयमा पेश गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

वडा अध्यक्ष उमेश अधिकारीले योजना कार्यान्वयनलाई थप पारदर्शी बनाउने र स्थानीय नागरिकलाई योजना प्रक्रियामा सहभागी गराउने उद्देश्य यस्तो अभ्यास सुरु गरिएको बताउनुभयो ।

“हामीले विकास योजनामा सबैको विश्वास कायम राख्न र योजना कार्यान्वयनलाई जनउत्तरदायी बनाउन वडा समितिकाे निर्णय अनुसार यस प्रकारको अभ्यास सुरु गरेका हौं,” अध्यक्ष अधिकारीले भन्नुभयो।

वडाका सचिव शेर बहादुर हमालले योजना कार्यान्वयनमा देखिन सक्ने सम्भावित असन्तोष वा विवादलाई रोक्ने विश्वास व्यक्त गर्नुभयाे। उहाँका अनुसार, तीन दिनभित्र कुनै उजुरी वा गुनासो प्राप्त नभएमा मात्र योजनाको भुक्तानी प्रक्रिया अघि बढाइने छ।

वडा कार्यालयले यस सम्बन्धमा सूचना जारी गर्दै कुनै पनि नागरिक वा सरोकारवालालाई गुनासो भए समयमै दाबी–विरोध दर्ता गर्न आग्रह गरेको छ। यसले विकास योजनामा हुने अनियमितता न्यूनीकरण गर्दै योजनाको प्रभावकारितामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
समाचार