बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

सोमबार, चैत १८, २०८१

भालुबाङ, १८ चैत - दाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित ५० शैयाको प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी १४ वर्षीया कविता वलीको आइतबार दिउँसो सफल शल्यक्रिया गरिएको हो।

एपेन्डिसाइटिसकाे लक्षण देखिएपछि कविताका परिवारले उनलाई प्रादेशिक अस्पताल भालुबाङमा पुर्याएका थिए। एमडिजिपी डाक्टर रण बहादुर बोगटी नेतृत्वको टोलीले वलीकाे सफल शल्यक्रिया गरेको हो। टोलीमा मेडिकल अधिकृत डाक्टर रविन मण्डल, सिनियर एनेस्थेटिस्ट असिस्टेन्ट मधु सुनार तथा सिनियर स्टाफ नर्स मनिता अधिकारी सहित अन्य स्वास्थ्यकर्मीहरू संलग्न थिए।

अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको डाक्टर बोगटीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, "एपेन्डिसाइटिस आकस्मिक रूपमा देखापर्ने गम्भीर रोग हो। समयमै उपचार नपाए यो घातक हुन सक्छ। बिरामीको अवस्थाअनुसार शल्यक्रिया आवश्यक पर्छ।"

डाक्टर बोगटीका अनुसार एपेन्डिसाइटिस हुँदा बिरामीलाई पेट पटक–पटक दुख्ने, भोक कम लाग्ने, वाकवाकी लाग्ने, लगातार पेट दुखिरहने र ज्वरो आउने समस्या देखिन्छ। लामो समयसम्म पेटको दुखाइ सहन नसकिने अवस्थामा एपेन्डिक्स फुट्न सक्ने जोखिम हुने भएकाले समयमै उपचार आवश्यक हुन्छ। "कवितालाई औषधि दिएर उपचार गरियो तर सुधार नभएपछि शल्यक्रिया गर्नु परेको हो," उहाँले भन्नुभयो। सीमित स्रोतसाधनका बाबजुद शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो। हाल कविता वलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रादेशिक अस्पताल भालुबाङमा केही महिना अघिदेखि गर्भवती महिलाहरूको शल्यक्रिया सेवा उपलब्ध गराइरहेको छ। अबदेखि एपेन्डिसाइटिस शल्यक्रियासमेत सुरु भएको छ।

डाक्टर बोगटीले भन्नुभयो, "हामीले पछिल्लो पटक गरेको सर्जरी विकसित मुलुक वा नेपालकै ठूला अस्पतालहरूको तुलनामा सानो देखिन सक्छ। तर, स्वास्थ्य सेवाको न्यून पहुँच भएको ठाउँका लागि यो महत्वपूर्ण उपलब्धि हो। सीमित साधनस्रोतबीच पनि हामीले विशेषज्ञ सेवा दिन सफल भएका छौँ।"

कविता वलीका बुबाले घरआँगनमै शल्यक्रियासहितको उपचार सेवा पाउँदा खुशी व्यक्त गर्नुभयो। साथै, अस्पतालका स्वास्थ्यकर्मीहरूको राम्रो व्यवहारका लागि आभार व्यक्त गर्दै अन्य बिरामीहरूलाई पनि सेवा लिन आग्रह गर्नुभयो।

अस्पतालले आगामी दिनमा हाइड्रोसिल, हर्निया लगायतका बिरामीहरूको समेत शल्यक्रिया गर्ने योजना बनाएको छ। यसअघि यी रोगका बिरामीहरूलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्