Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न

शुक्रबार, वैशाख १२, २०८२

मसुरीया, १२ बैशाख - दाङको राप्ती गाउँपालिका वडा नं. ३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम शुक्रबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष शान्तप्रसाद चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सीपमूलक तालिमहरू महिलाहरूको आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले राप्तीका युवाहरू र महिलाहरूलाई उद्यमशील बनाउने लक्ष्यसहित तालिमहरू सञ्चालन गर्दै आएका छौं। महिलाहरूले सीप सिकेर घरमै बसेर आम्दानी गर्ने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो। सशक्त महिला भनेको समुन्नत समाज हो भन्ने दृष्टिकोणले पालिकाले निरन्तर यस्ता कार्यक्रमलाई अगाडि बढाइरहेको छ।”WhatsApp-Image-2025-04-25-at-6.10.53-PM-1745596404.jpeg
अध्यक्ष विष्टले थप भन्नुभयो, “आधारभूत सीप सिकेर अगाडि बढ्न चाहने महिलाका लागि स्तरोन्नती तालिमहरू अझ प्रभावकारी बन्न सक्छन्। तालिमले महिलामा आत्मविश्वास मात्र होइन, व्यावसायिक सोच पनि विकास गर्छ। अब तपाईँहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक छ। पालिका यस्ता प्रयासमा सधैं साथ दिन तयार छ।”

कार्यक्रममा जिल्ला समन्वय समिति दाङकी सदस्य दुर्पती चौधरी, तालिम प्रशिक्षक सुनी चौधरी, सहभागी महिला गिरिजा चौधरीलगायतले तालिमको प्रभाव र आवश्यकता बारेमा आ-आफ्नो भनाइ राख्नुभएको थियो।

गाउँपालिकाको "राप्तीका युवा र महिला, उद्यमशीलतामा पहिला" भन्ने अभियान अन्तर्गत सञ्चालित उक्त तालिममा सहभागी महिलाहरूलाई सर्ट, पाइन्टसँगै थारु समुदायको परम्परागत पहिरन लेहेङ्गा र कुर्ता सिलाउने व्यावसायिक सीप प्रदान गरिएको थियो।

गत वर्ष आधारभूत कटाई सिलाई तालिम लिएका १६ जना महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको साे स्तरोन्नती तालिमले उनीहरूको सीपमा परिष्कृतता ल्याउँदै व्यवसायिक बाटोमा डोर्‍याउने उद्देश्य राखिएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
समाचार