Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा प्रेरणा परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतबार, वैशाख १४, २०८२

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा प्रेरणा परियोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र फेयर मेड फाउन्डेसनको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

परियोजनाले नेपालमा हालसम्म देखिएका उपेक्षित उष्ण प्रदेशीय रोगहरूको न्यूनीकरणका लागि विशेष कार्य गर्ने लक्ष्य राखेको प्रेरणा परियोजनाका दाङ जिल्ला संयोजक विवेक केसीले जानकारी दिनुभयो। उहाँका अनुसार विशेष गरी लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु स्वास्थ्य तथा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा परियोजनाले महत्वपूर्ण काम गरिरहेको छ।

कार्यक्रममा उपेक्षित उष्ण प्रदेशीय रोगहरूबाट प्रभावित वा जोखिममा रहेका तथा पछाडि परेका समुदायहरूको स्वास्थ्य अवस्था सुदृढ गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको जानकारी गराइएको थियो।

त्यस्तैगरी स्वास्थ्य प्रणालीका विभिन्न स्तम्भहरूको क्षमता तथा जवाफदेहिता अभिवृद्धि गर्ने, जनताको आधारभूत स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा पहुँच पुर्‍याउने, समुदायलाई परिवर्तनका संवाहकको रूपमा सक्रिय बनाउने र तथ्यमा आधारित योजना तथा स्वास्थ्य सेवा प्रवाहलाई संस्थागत गर्ने मुख्य उद्देश्य रहेको जिल्ला संयोजक केसीले बताउनुभयो।

गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष भक्तबहादुर जिसी, वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने, प्रेरणा परियोजना दाङकी फोकल पर्सन सङ्गीता राई, जिल्ला संयोजक विवेक केसी तथा बंगलाचुली गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।

सो अवसरमा गाउँपालिका अध्यक्ष पुनले प्रेरणा परियोजनाले बंगलाचुली गाउँपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसीले गर्नुभएको थियो।

उक्त परियोजना बंगलाचुलीसहित दाङका ६ वटा स्थानीय तहमा सञ्चालन हुने जानकारी दिइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
समाचार