राप्ती गाउँपालिकाको 'उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद' कार्यक्रम निरन्तर

आइतबार, वैशाख २१, २०८२

भालुबाङ,२१ बैशाख - दाङकाे राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, चुनौती र आवश्यकता उद्योगमै पुगेर बुझ्ने “उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद” कार्यक्रमलाई निरन्तरता दिई रहेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पालिकाबाट विभिन्न समयमा सीप तथा प्रविधि सम्बन्धी तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका युवा तथा महिला उद्यमीहरूको प्रगति, चुनौती र भावी आवश्यकता बुझ्न गाउँपालिकाको टोली उद्योगमै पुगेर अन्तरक्रिया गरिरहेको हाे।

यसै क्रममा आइतबार गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, रोजगार संयाेजक मुमाराम भुसाल, उद्यम विकास सहजकर्ता बीनिता चौधरी लगायतको टोलीले वडा नम्बर ४ स्थित राप्ती हाते कागज उद्योग र वडा नम्बर ८ स्थित राप्ती केरा चिप्स उद्योगमा पुगेर उद्यमीहरूसँग प्रत्यक्ष छलफल र अन्तरक्रिया गरेको हो।

कार्यक्रममा व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक समस्याहरू, बजार अभाव, वित्तीय कठिनाइ तथा प्राविधिक सुधारका आवश्यकताका विषयमा विस्तृत छलफल गरिएको थियो।

उपाध्यक्ष चौधरीले उद्यमीहरूको दैनिक कामकाजलाई सहज बनाउने र रोजगारी सृजनामा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पालिका सधैं उद्यमीहरूको साथमा रहने स्पष्ट पार्नुभयो।

रोजगार संयाेजक भुसालले उद्यमीहरूको सीप अभिवृद्धि, प्राविधिक सहयोग र तालिम कार्यक्रमलाई पालिकाले उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिनुभयो।

उद्योगीहरूले रोजगार सिर्जना, उत्पादन वृद्धि तथा बजार विस्तारका लागि पालिकासँग थप सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

यस पहलले पालिका र उद्यमीबीचको सहकार्यलाई मजबुत बनाउँदै स्वरोजगारको प्रवर्द्धन र आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्