Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान

शुक्रबार, जेठ २, २०८२

मसुरिया, २ जेठ - लुम्बिनी प्रदेश स्थानीय निजामती सेवा ऐन, २०८१ तथा सोही अनुसारको नियमावली २०८१ को प्रावधानअनुसार राप्ती गाउँपालिकाले तह वृद्धि भएका कर्मचारीहरूलाई औपचारिक रुपमा तह वृद्धि गरिएको पत्र प्रदान गरेको छ।

शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिकाले विभिन्न तहमा तह वृद्धि भएका आफ्ना ३० जना कर्मचारीलाई तह वृद्धि गरिएको जानकारीसहितको पत्र प्रदान गरेको हो।

गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले संयुक्त रूपमा कर्मचारीहरूलाई पत्र प्रदान गर्नुभएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले कर्मचारी तह वृद्धि प्रक्रियालाई संस्थागत प्रोत्साहनको रूपमा लिँदै यसले कर्मचारीहरूलाई अझ प्रेरित, जिम्मेवार र सेवामुखी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कर्मचारीहरूको योगदान, लगनशीलता र निरन्तर सेवाको मूल्यांकनस्वरूप सरकारले तह वृद्धि प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै, दक्ष र प्रेरित कर्मचारीको भूमिकाले मात्रै पालिकाको सेवा प्रवाह प्रभावकारी र जनउत्तरदायी बन्न सक्ने धारणा राख्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले तह वृद्धि प्रशासनिक संरचना र सेवा गुणस्तर सुधारको महत्वपूर्ण माध्यम भएको बताउँदै कर्मचारीको सेवा समर्पणको सम्मानस्वरूप यो प्रक्रिया अगाडि बढाइएको प्रस्ट पार्नुभयो। उहाँले सबै तह वृद्धि भएका कर्मचारीहरूलाई अझ अनुशासित, जवाफदेही र निष्ठावान भएर काम गर्न आग्रह गर्नुभयो।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
समाचार