Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा ‘पोषण मार्फत जीवन रुपान्तरण परियोजना’काे पालिका स्तरीय समिक्षा कार्यक्रम सम्पन्न

आइतबार, जेठ ४, २०८२

मसुरिया, ४ जेठ -  दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय ‘पोषण मार्फत जीवन रुपान्तरण परियोजना’ अन्तर्गत सरोकारवालाहरुसँग बैठक तथा समीक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ।

हेलेन केलर इन्टरनेसनल,आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

हेलेन केलर इन्टरनेसनलका फिल्ड अधिकृत अनिल केसीले परियोजनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार कुपोषण बालबालिकामा लाग्ने गम्भीर रोग हो, जसले बालबालिकाको बौद्धिक क्षमतामा प्रत्यक्ष असर पार्छ। परियोजनाको अवधि पाँच वर्षको रहेको र दाङका १० वटै स्थानीय तहमा ३१ जना कर्मचारी खटाएर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो।

कुपोषणका कारण रक्तअल्पता, पुड्कोपन जस्ता समस्याहरू देखा पर्ने केसीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा कुपोषणको दर १६.४ प्रतिशत रहेको छ भने पुड्कोपन २५ प्रतिशत र रक्तअल्पता ४८.५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

दाङ जिल्लामा १ हजार ३ सय १४ जना बालबालिकाहरू शिघ्र कुपोषण रोग संक्रमित छन्।

जस मध्ये राप्ती गाउँपालिकामा १ सय १९ जनामा मध्यम कुपोषण र सातजनामा कडा कुपोषण फेला परेको तथ्यांकले देखाएको छ ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले गर्भावस्था देखिनै पोषणको विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो। बालबालिकाको पाँच वर्षको उमेर विशेष संवेदनशील हुने भएकाले पोषण सुरक्षामा बढी ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। कुपोषणले बालबालिकाको बौद्धिक क्षमतामा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै उहाँले नेपाल सरकारद्वारा ल्याइएका नीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सक्ने हो भने कुपोषण न्यूनिकरण सम्भव हुने बताउनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, कृषि शाखा प्रमुख बरसाती गडरियालगायत विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
समाचार