आगामी बजेटमा पोषण सुधार कार्यक्रमलाई प्राथमिकता दिन्छौ : मेयर खडका

आइतबार, जेठ ४, २०८२

दाङ - तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले आगामी वर्षमा पोषण सुधार कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ । बेस र पोषण मार्फत जीवन रूपान्तरण परियोजनाको संयुक्त आयोजनामा तुलसीपुरमा भएको पालिका स्तरीय सरोकारवालाहरूको बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सडक, पुल, सिचाई लगायतका भौतिक पूर्वाधारको कामलाई मात्रै विकास भन्ने प्रवृत्तिका कारण स्वास्थ्यमा अपेक्षाकृत रुपमा बजेट नपरेको बताउँदै मेयर खड्काले वडालाई पनि चालु आर्थिक वर्षका लागि बजेट व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

‘तपाईँहरूको वडामा पनि कुपोषणको अवस्था कस्तो रहेछ थाहा पाइहाल्नु भयो । बजेट बनाउने बेला पनि भएको छ । बालबालिकालाई कुपोषणबाट बचाउनका लागि पोषण सुधार कार्यक्रम गर्नुपर्ने हुन्छ ।  पालिकाले पनि व्यवस्थापन गर्छ वडामा तपाईँहरूले  पनि गर्नुस् ।’ मेयर खड्काले भन्नुभयो ।

कार्यक्रममा दाङका १० पालिकामा भइरहेको पोषण सुधार कार्यक्रम, कुपोषण, रक्त अल्पता, पुड्कोपन, उपचार सेवा लगायतका विषयमा परियोजना प्रमुख सुरेश चौधरीले जानकारी प्रस्तुती करण राख्नु भएको थियो । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, बेसका कार्यकारी प्रमुख चुर्ण बहादुर चौधरी, जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपाने, जनस्वास्थ्य निरीक्षक विमल केसी लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
समाचार