सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
देउखुरी, ५ जेठ - पछिल्ला केही महिनादेखि अघोषित रूपमा भइरहेको लोडसेडिङले उद्योग, व्यापार तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै राप्ती गाउँपालिकाका उद्योगी–व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रलाई सोमबार ज्ञापनपत्र बुझाएका छन्।
उद्योग व्यापार संघ राप्तीका अध्यक्ष गञ्जबहादुर विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वितरण केन्द्रका प्रमुख इन्जिनियर युवराज रावतलाई उक्त ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा पूर्वसूचना बिना पटक–पटक हुने विद्युत् कटौतीले उद्योग तथा व्यापार ठप्प हुने, सेवा प्रवाह अवरुद्ध हुने र समग्र आर्थिक गतिविधिमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ। साथै, उद्योग–व्यवसाय मात्र नभई आम नागरिकको दैनिक जीवनसमेत अस्तव्यस्त भएको जनाउँदै, भविष्यमा हुने कुनै पनि विद्युत् कटौती वा मर्मत कार्यबारे समयमै जानकारी दिन माग गरिएको छ।
त्यस्तै ज्ञापनपत्रमा अघोषित लोडसेडिङका कारण विद्युतीय उपकरणमा क्षति, व्यवसाय सञ्चालनमा अवरोध तथा ग्राहकको विश्वासमा गिरावट आएको उल्लेख गर्दै विद्युत् अवरुद्धका स्पष्ट कारण, समाधान प्रक्रिया र दीर्घकालीन सुधार योजनाबारे प्राधिकरणसँग स्पष्ट जानकारी समेत माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै वितरण केन्द्र प्रमुख इन्जिनियर रावतले यो अघोषित लोडसेडिङ नभई प्राविधिक कारणले विद्युत् आपूर्तिमा समस्या आएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार देउखुरी क्षेत्रको एकमात्र सब-स्टेशनले बढ्दो लोड धान्न नसक्दा समस्या उत्पन्न हुने गरेको हाे।
ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष विष्टसहित राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष बसन्त बहादुर कुँवर क्षेत्री, सिसहनियाँ उद्योग संघका अध्यक्ष इश्वरी अधिकारी, भालुवाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बसन्त गिरी, भालुवाङ होटल व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदी,झग्गु अधिकारी, तुला गिरी, बसन्त नेपाली, माधव भुसाल, चन्द्र खनाल, जया रावललगायत अन्य उद्योगी व्यावसायीहरुको उपस्थिति रहेको थियो।