राप्ती गाउँपालिकामा विपद् पूर्वतयारीसम्बन्धी बैठक सम्पन्न

शुक्रबार, जेठ १६, २०८२

मसुरिया, १६ जेठ - दाङको राप्ती गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठक शुक्रबार मसुरियामा सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकमा वर्षायामसँगै देखिन सक्ने सम्भावित विपद् जोखिम, त्यसको पूर्वतयारी, न्यूनीकरण तथा राहत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

बैठकमा सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी आवश्यक पूर्वतयारीमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ। साथै, विपद् न्यूनीकरणका लागि सूचनाको प्रभावकारी प्रवाह, आवश्यक जनशक्ति तथा सामग्री व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले गाउँपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने र सम्बन्धित निकायहरूसँग समन्वय गर्दै कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले मापदण्डविपरीत निर्माण गरिएका बाटो तथा संरचनाहरूले पनि विपद् निम्त्याउने भएकाले सबै पक्ष आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, आगलागी, सर्पदंश, डुबानजस्ता विपद्का घटनाहरू न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि अध्यक्ष विष्टले जानकारी दिनुभयो। आवश्यक जनशक्ति र सामग्री व्यवस्थाका लागि गाउँपालिकाले सक्दो तयारी गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो।

बैठकमा सहभागीहरूले आपसी सहकार्य र समन्वयका साथ विपद् पूर्वतयारी र प्रतिकार्य प्रभावकारी बनाउने धारणा व्यक्त गरेका थिए। सुरक्षाकर्मीहरूले विपद् नियन्त्रणका लागि तत्काल परिचालन हुने योजनाबारे जानकारी गराएका थिए भने रेडक्रस तथा अन्य संघसंस्थाहरूले स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याएका थिए।

बैठकमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, वडा नं. ४ का अध्यक्ष तथा भौतिक पूर्वाधार समिति संयोजक वीरबहादुर चौधरी, वडा नं. ७ का अध्यक्ष सीताराम चौधरी, विभिन्न राजनीतिक दलका प्रमुखहरू, उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाइटी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो।

राप्ती गाउँपालिका विपद् व्यवस्थापन समितिले प्रत्येक वर्ष वर्षा सुरु हुनु अगावै यस प्रकारको समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ, जसको उद्देश्य विपद् जोखिम न्यूनीकरण, प्रभावकारी राहत तथा उद्धार कार्य सुनिश्चित गर्नु हो।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
समाचार