घोराही उपमहानगरपालिकालाई पूर्णखाेपयुक्त घाेषणा गरियाे

बुधबार, जेठ २१, २०८२

घोराही, २० जेठ - यस वर्ष घोराही उपमहानगरपालिकामा पूर्ण खोप सुनिश्चित गरिएको छ ।
उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले मङ्गलबार घोषणा सभा आयोजना गरी ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा’ गरेको हो ।

घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकाले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले जिल्लाका अन्य सबै स्थानीय तहले घोराहीबाट सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नगर प्रमुख नरूलाल चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा आफूहरूले विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले मानवीय विकास बिना नगरको समृद्धि सम्भव नहुने बताउँदै स्वास्थ्य सेवा सुदृढीकरणमा निरन्तर क्रियाशील रहेको स्पष्ट गर्नुभयो । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य सेवा अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यले पूर्ण खोप सुनिश्चित गराउन सफल भएकोमा उपमहानगरपालिकाको नेतृत्वदेखि समुदायस्तरसम्म क्रियाशील स्वास्थ्य स्वयंसेवकहरू सबैलाई धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा घोराही उपमहानगरपालिकाले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।

शहरी स्वास्थ्य केन्द्र, घोराही उपमहानगरपालिका वडा नं १ का प्रमुख बालाराम रोकााले सबैको समन्वित प्रयासबाट यो उपलब्धि सम्भव भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
समाचार