सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घाेराही, २७ जेठ - दाङको घोराही उपमहानगरपालिकाले यस शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यपुस्तक ‘हाम्रो घोराही’ को अन्तिम रूपमाथि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाठ्यपुस्तकमा समावेश गरिएका पाठ शीर्षकहरू, त्यसको प्रस्तुति शैली, शैक्षिक उद्देश्य र स्थानीय सान्दर्भिकतामाथि समीक्षा गरिएको हो ।
कार्यक्रममा ‘हाम्रो घोराही’ पुस्तकका लेखक जितबहादुर शाहले पाठ्यपुस्तकमा समावेश गरिएका प्रमुख विषयवस्तुबारे विस्तृत जानकारी दिनुभयो । उहाँले पुस्तकले विद्यार्थीहरूलाई आफ्नै समुदायको परिवेश, सम्पदा, संस्कृति र सीपका बारेमा सिकाउन मद्दत गर्ने बताउनुभयो ।
पुस्तकमा समेटिएका मुख्य विषयहरूमा घोराहीको आर्थिक तथा पर्यटकीय सम्पदा, परम्परा र संस्कृति, हाम्रा पेशा र व्यवसाय, मूल्य शिक्षा, जीवन उपयोगी सीप, स्थानीय खेलकुद, विपद् तथा फोहोर व्यवस्थापन, हरित विद्यालयको अवधारणा, सामाजिक कार्य, संघ–संस्था र प्रेरणादायी व्यक्तित्वहरू रहेका छन् ।
नगर प्रमुख चौधरी र उप-प्रमुख हुमा डिसीले स्थानीय पाठ्यक्रमले बालबालिकालाई आफ्नै समाजको गहिरो ज्ञान दिन सहयोग गर्ने विश्वास व्यक्त गर्दै ‘हाम्रो घोराही’ पुस्तक नगरको शिक्षा क्षेत्रको लागि एक नवीनतम प्रयास भएको बताउनुयो । उहाँले यस शैक्षिक सत्रदेखि नगरका सबै सामुदायिक विद्यालयहरूमा उक्त पुस्तक पढाइने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षाविद्हरुले पाठ्यपुस्तकले स्थानीय ज्ञान र संस्कृति प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । साथै, आगामी दिनमा पुस्तकलाई अझ सुदृढ बनाउने सन्दर्भमा सुझावहरू पनि प्रस्तुत गरिएको थियो । साभार : खोज रफ्तार