सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, ३१ जेठ - घोसखोलामा झोलुंगे पुल निर्माण भएपछि राप्ती गाउँपालिका–९ सिमले र बंगलाचुली गाउँपालिका–८ झुण्डीका विद्यार्थीहरुलाई पठन पाठनमा सहज भएको छ ।
‘पहिले त खोलामा पानी बढेपछि स्कुल जानै सकिन्नथ्यो’– कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भन्नुभयो– ‘बर्खामा त घरमै बस्नुपर्ने हुन्थ्यो, पढाइ छुट्थ्यो ।’ सुस्मिता मात्रै होइन, राप्ती गाउँपालिका–९ सिमले र बंगलाचुली गाउँपालिका–८ झुण्डीका ५० भन्दा बढी विद्यार्थीले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका थिए । वर्षायाममा खोलामा बाढी आउँदा देवी आधारभूत विद्यालय मसरीडाँडासम्म पुग्ने बाटो अवरुद्ध हुन्थ्यो । भेलले स्कुल जान जोखिमपूर्ण बन्थ्यो ।
कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगर पनि विगत सम्झदै भन्नुहुन्छ– ‘खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि त हरेक दिन ढुक्कसँग स्कुल जान सकिन्छ, पढाइ पनि छुट्दैन ।’ अब ती विद्यार्थीहरूको वर्षाैदेखिको पीडा अन्त्य भएको छ । दुबै पालिका जोड्ने घोसखोलामा झोलुंगे पुल निर्माण भएपछि विद्यार्थी मात्रै होइन एक सय ९५ घरधुरीका करिब एक हजार नौ सय ७० सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।
पुल निर्माणपछि बालबालिकाहरूको नियमित विद्यालय उपस्थिति सुनिश्चित भएको छ भने स्थानीय बासिन्दाहरूको स्वास्थ्य सेवा तथा बजारमा पहुँच पनि सहज भएको छ । एक सय १२ मिटर लामो पुल निर्माणमा कुल ६२ लाख ८३ हजार एक सय ५८ रुपैयाँ ६६ पैसा खर्च भएको छ । संघीय सरकारको ४३ लाख ४८ हजार दुई सय ३३ रुपैयाँ २१ पैसा, राप्ती गाउँपालिकाको १८ लाख नौ हजार दुई सय ६२ रुपैयाँ ३८ पैसा र स्थानीय समुदायको एक लाख २५ हजार छ सय ६३ रुपैयाँ १७ पैसा बराबरको जनश्रमदानबाट पुल निर्माण भएको पालिकाका इन्जिनियर अशाेक बेल्वासेले बताउनुभयो।
विद्यालयका शिक्षक कृष्णबहादुर सोती मगरका अनुसार, पुल नहुँदा झुण्डीबाट आउने विद्यार्थीहरू बर्खायाममा विद्यालय आउन सक्दैनथे । अहिले पुल बनेपछि ती विद्यार्थीहरूको उपस्थिति नियमित भएको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पुल बनेपछि स्थानीयलाई सहज भएको बताउनुभयो । वडा नं.९ का अध्यक्ष रिमबहादुर सुनारी मगरले स्थानीय समुदायको निरन्तर माग र प्रयासले गर्दा योजना सफल भएको बताउनुभयो ।