Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ४ सय बेडको अस्पताल निर्माण सुरू, दुई अर्ब ७४ करोड बजेट पारित

आइतबार, असार ८, २०८२

काठमाडौं, ८ असार - दाङ घाेराहीमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणदेखि शैक्षिक, अनुसन्धान र व्यवस्थापन पक्षका नीति, योजना तथा कार्यक्रम पारित गरेको हो।

बैठकमा ४०० श्यैयाको अत्याधुनिक शिक्षण अस्पताल निर्माण कार्य सुरु भएको जानकारी दिइएको छ। उपकुलपति डा. विकास लामिछानेका अनुसार, यो गुरुयोजना अघिल्लो (पाँचौँ) सिनेटबाट स्वीकृत भइसकेको थियो।

सभाले ‘शिक्षक तथा कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरू संशोधन गर्नुका साथै प्रतिष्ठानको लोगो परिवर्तनसम्बन्धी निर्णयसमेत गरेको छ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले राप्ति प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति दुवै हिसाबले समृद्ध बनाउनुपर्नेमा जोड दिए। उनले ‘निरोगी नेपाल’ अभियानलाई सार्थक बनाउँदै आमसञ्चार र सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेललगायत प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको बैठकले आगामी वर्षका लागि स्पष्ट कार्यदिशा तय गरेको छ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्