Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित 

मंगलबार, असार १०, २०८२

मसुरिया, १० असार - दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ।

गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफलपछि शिक्षा क्षेत्रका केही बुँदाहरू संशोधनसहित मंगलबार पारित गरिएको हो।

प्रस्तावित नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूको गुणस्तर र पहुँच अभिवृद्धि गर्न विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार बनाउने, संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने, शिक्षक अनुदान रकमलाई क्रमशः घटाउँदै लैजाने, तथा विद्यालय मर्जर (गाभ्ने) नीति लागू गर्ने जस्ता शिक्षा क्षेत्रसम्बन्धी बुँदाहरू संशोधनपश्चात अनुमोदन गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलमान चौधरीले जानकारी दिनुभयो।

त्यसैगरी सभाले आर्थिक वर्ष २०८१/८२ मा हालसम्म भएका कार्यपालिका बैठकका निर्णयहरूलाई पनि औपचारिक रूपमा अनुमोदन गरेको छ।

गाउँपालिकाले असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि र उद्यम विकासलाई विशेष प्राथमिकता दिने र पालिकालाई समावेशी, दिगो तथा समृद्ध बनाउने लक्ष्य राखेको जनाएको थियो।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
समाचार