शान्तिनगर गाउँपालिकाको ४८ करोड ९८ लाखको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा विशेष जोड

शान्तिनगरको बजेट: उज्यालो अभियानदेखि आफ्नै प्रशासनिक भवनसम्म
बुधबार, असार ११, २०८२

 शान्तिनगर,११  असार   - दाङको शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ। मङ्गलबार गाउँपालिकाको १८ औ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले जम्मा ४८ करोड ९८ लाख ५३ हजार ३ सय ३७ रुपैयाँ  बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। बजेटमा  संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान १० करोड ५ लाख सशर्त अनुदान १८ करोड ८१ लाख राजस्व बाँडफाँट बापत ९ करोड ५८ लाख ४९ हजार ३ सय ३७ र समपरक अनुदान १ करोड गरी जम्मा ३९ करोड ४४ लाख ४९ हजार ३ सय ३७ रुपैयाँ अनुमान गरिएको छ।

बजेटमा प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान ६७ लाख ९१ हजार,  सशर्त अनुदान ८५ लाख राजस्व बाँडफाँट बापत ८० लाख ५२ हजार , विशेष अनुदान १८ लाख र समपुरक अनुदान ७५ लाख गरी जम्मा ३ करोड २६,४३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।  त्यस्तै गाउँपालिकाको आन्तरिक राजस्व र आय तथा चालु वर्षको अन्त्यमा बचत हुने  बैंक मौजदात समेत गरि ६ करोड २७ लाख ६१ हजार प्रक्षेपण गरिएको छ ।

बजेट विनियोजन गर्दै उपाध्यक्ष बुढाथोकीले गाउँपालिकाले चालु खर्च तर्फ ३२ करोड ४४ लाख अर्थात् कुल बजेटको ६६.२२% विनियोजन भएको र  पुँजीगत तर्फ १६ करोड ५४ लाख ५३ हजार अर्थात् कुल बजेटको ३३ दशमलब ७८% विनियोजन गरिएको बताउनुभएको छ। 

खानेपानी सरसफाई तथा ऊर्जातर्फ शान्तिनगरवासीको रहर उज्यालो शान्तिनगर भन्ने अभियान स्वरूप गाउँपालिकाभित्रका सम्पूर्ण ग्राहकहरूको न्यूनतम शुल्क गाउँपालिका मार्फत नेपाल विद्युत प्राधिकरणमा रकम दाखिलाउने गरी २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै पालिकाभित्रका चिकित्साशास्त्र, चिकित्सक, पाइलट अध्ययन गर्ने विद्यार्थीलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइनेछ । खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण वृद्धि गर्न राष्ट्रियस्तरमा छनोट हुने खेलाडीलाई प्रोत्साहन रकम उपलब्ध गराइने बजेटमा उल्लेख छ । 

गाउँपालिकाले शिक्षा अन्तर्गत शान्तिनगर गाउँपालिकामा रहेका कक्षा ६ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थीका लागि विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम तर्फ १३ लाख९८ हजार बजेट विनियोजन गरेको छ। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापन तर्फ १४ लाख २७ हजार बजेट विनियोजन भएको छ।

स्वास्थ्यतर्फ शान्तिनगर गाउँपालिका बासीलाई निःशुल्क मोतीबिन्दुको चेकजाँच तथा अपरेसन कार्यक्रमलाई निरन्तरता दिन ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले भौतिक पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाको सार्वजनिक सेवा प्रभाहलाई एउटै स्थानबाट सञ्चालन गर्न आफ्नै प्रशासनिक भवन बहुवर्षीय रुपमा निर्माण गर्न चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको  छ। शान्तिनगर गाउँपालिकाको सूचनालाई सबै गाउँवासीको घरघरमा सम्प्रेषण गर्न सामुदायिक एफएम रेडियो संचालनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

509930364_4186878524867114_6279119375127767865_n-1750859650.jpg
500369397_4186878474867119_3110247063722573593_n-1750859634.jpg

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्