दाङमा पेस्तोलसहित एक युवक पक्राउ, होस्टेलको खाटमुनी लुकाएको अवस्थामा हतियार बरामद

बुधबार, असार २५, २०८२

दाङ,२५ असार  - दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोक नजिकको लोटस ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।

पक्राउ पर्ने युवक सल्यानको कपुरकोट गाउँपालिका–३ फलाटे स्थायी घर भई हाल लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बसोबास गरिरहेका १९ वर्षीय अजय बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलबार साँझ करिब ६:३० बजे अजय बिकले अवैध हतियार लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा पुगेको टोलीले खाटमुनि लुकाइएको झोलाबाट ०.३२ बोरको पेस्तोल (Serial No. INGSF190213430), चार थान गोली, र एक थान सात राउण्ड क्षमताको म्यागजिन फेला पारेको छ।

बरामद हतियारसहित अजय बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार हतियार भारतीय अर्डनन्स फ्याक्ट्री (Indian Ordnance Factory) मा निर्मित भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्