राप्तीमा लक्षित वर्गका लागि सुधारिएको चुलो वितरण : स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

बुधबार, असार २५, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मसुरिया, २५ असार  - दाङको राप्ती गाउँपालिकामा लक्षित वर्गका परिवारहरूलाई स्वच्छ ऊर्जा प्रवर्द्धनको उद्देश्यसहित सुधारिएको चुलो वितरण गरिएको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

राप्ती गाउँपालिका, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC) तथा उपभोक्ताको साझेदारीमा सञ्चालित कार्यक्रममा गाउँपालिकाभित्रका ५ सय ५५ घरपरिवारलाई तह–३ को विद्युतीय पंखासहितको सुधारिएको चुलो वितरण गरिएको हो।

चुलो भूमिहीन दलित, सुकुम्बासी, मुक्त कमैया, अति विपन्न, पछाडि परेका समुदाय तथा एकल महिला जस्ता लक्षित वर्गका परिवारहरूलाई वितरण गरिएको छ।

गाउँपालिकाका स्वच्छ ऊर्जा प्रवर्द्धनका फोकल पर्सन बालचन्द्र गुरुङका अनुसार बुधबार वडा नम्बर १, ३,४ र ८ मा बसोबास गर्ने लाभग्राहीहरूलाई चुलो वितरण गरिएको छ भने अन्य वडाहरूमा पनि क्रमशः वितरण गरिनेछ।

चुलो वितरण कार्यक्रम लागत साझेदारीमा आधारित रहेको छ। चुलोको कुल मूल्यमध्ये १५ प्रतिशत रकम सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले व्यहोरेको छ भने ५ प्रतिशत अर्थात् ३ सय रुपैयाँ उपभोक्ताले तिर्ने व्यवस्था गरिएको छ। बाँकी लागत अन्य साझेदार निकायहरूले व्यहोरेका छन्।

यसअघि गाउँपालिकाले एक महिना अघिनै सूचना प्रकाशित गरी आवेदन सङ्कलन गरेको थियो। प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य लाभग्राही छनोट गरिएको हो।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सुधारिएको चुलो वितरण कार्यक्रमले वातावरण प्रदूषण घटाउने, दाउराको खपत कम गर्ने र आमाबुबा तथा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

“स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग गतवर्षै सम्झौता गरिएको हो,” अध्यक्ष बिष्टले भन्नुभयो, “यही सम्झौताको निरन्तरतास्वरूप सुधारिएको चुलो वितरण गरिएको हो। आगामी दिनहरूमा इन्डक्सन चुलो, बायोग्याँस तथा थप सुधारिएको चुलो पनि अन्य समुदायका घरपरिवारलाई क्रमशः वितरण गरिनेछ।”

स्वास्थ्य तथा वातावरणमैत्री प्रविधिको पहुँच विस्तार गर्दै लैजान राप्ती गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

यस कार्यक्रमले स्वच्छ ऊर्जा पहुँचलाई व्यापक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।WhatsApp-Image-2025-07-09-at-6.03.31-PM-1752068554.jpeg

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्