Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बबई गाउँपालिकाको बर्खे अधिवेशन सम्पन्न : विनियोजन र आर्थिक विधेयक सर्वसहमत पारित

सोमबार, असार ३०, २०८२

हापुरे,३० असार - दाङको बबई गाउँपालिकाको १७औं गाउँसभाको तेस्रो बैठक सम्पन्न भएको छ। पालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक तथा आर्थिक विधेयक सर्वसम्मतिले पारित गरेको हो।

उपाध्यक्ष बमकुमारी खड्काले दोस्रो बैठकमा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ मा व्यापक छलफल पछि तेस्रो बैठकमा दुवै विधेयक पारित गरिएको हो। यस्ता विधेयक पारित भएसँगै पालिकाले बजेट तथा योजनामार्फत सेवा प्रवाहलाई थप व्यवस्थित गर्न सक्ने विश्वास गरिएको छ।

गाउँसभाले पालिकाका सबै हलुका सवारी चालक कर्मचारीहरूको तलब समान बनाउने निर्णय गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा भुक्तानी दिन बाँकी सम्पूर्ण योजनाहरूलाई बाँकी भुक्तानीको सूचीमा राख्ने निर्णय पनि गरिएको छ। विकास निर्माणमा नागरिकको सहभागिता बढाउन प्रत्येक वडामा ५ देखि १० लाख रुपैयाँसम्मको साझेदारी योजना सञ्चालन गर्ने निर्णय समेत बैठकमा पारित भएको छ।

गाउँसभाको शून्य समयमा विभिन्न वडाका जनप्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारी, वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर डाँगी, वडा नं. ३ का सदस्य खड्ग बहादुर खत्री, वडा नं. ५ का सदस्य भीमबहादुर खड्का, र वडा नं. ७ का सदस्य इन्द्रबहादुर डाँगीले सार्वजनिक सेवा, योजना कार्यान्वयन र स्थानीय समस्या सम्बन्धी विचार राखेका थिए।

यसै अवसरमा पालिकाका विभिन्न शाखामा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना कर्मचारीहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा प्रशासन शाखा प्रमुख तेजेन्द्र घर्ती मगर, सूचना प्रविधि अधिकृत पुरुषोत्तम अधिकारी, उद्यम शाखा प्रमुख यज्ञ बहादुर डाँगी, प्राविधिक हिरालाल ओली, वडा सचिव प्रेम प्रकाश वली र कम्प्युटर सहायक जगत चौधरी रहेका छन्। उनीहरूलाई सम्मान पत्र र नगदसहित ‘उत्कृष्ट कर्मचारी सम्मान’ प्रदान गरिएको हो।

गत असार ७ गतेदेखि सुरु भएको बर्खे अधिवेशन विभिन्न नीति, कार्यक्रम र बजेट पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको हो। हापुरे अनलाइन

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
समाचार