Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शेयर बजार ३५ अङ्कले घट्याे,  ८ अर्ब १७ कराेड रुपैयाँको काराेबार

सोमबार, असार ३०, २०८२

काठमाडौँ,३० असार - नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिपछि पहिलो दिन उकालो लागेको शेयर बजार आज पुनः ओरालो लागेको छ। सोमबार नेप्से परिसूचक ३५.०९ अङ्कले घटेर २७२५.७१ विन्दुमा झरेको हो।

आज जलविद्युत् बाहेक सबै समूहको शेयरमा गिरावट आएको छ। बैंकिङ समूहको शेयर मूल्य झन्डै २.५ प्रतिशतले घटेर बजारमा सबैभन्दा ठूलो नकारात्मक प्रभाव पारेको छ।

सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै ४.५ प्रतिशतले घटेको छ। यद्यपि बजार घट्दासमेत माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० को मूल्यमा झन्डै ६ प्रतिशतले वृद्धि भएको छ।

आज कारोबार रकमसमेत घटेको छ। हिजो ११ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२१ कम्पनीका २ करोड ११ लाख कित्ता शेयर मात्र ८ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएका छन्।

बजार विश्लेषकहरूले यो घटावटलाई मौद्रिक नीतिपछि देखिएको अस्थायी समायोजनको संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार अल्पकालीन लाभ लिन खोज्ने लगानीकर्ताहरूको मनोविज्ञानले बजारमा चाप सिर्जना गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
समाचार