दाङको बबई नदिमा डुबेर दुई युवकको मृत्यु

सोमबार, असार ३०, २०८२

असार,३० दाङ - पश्चिम दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ।

मृतकहरूमा तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी १७ वर्षीय विधान केसी र तुलसीपुर–५ स्थित न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षीय कुशल बुढामगर रहेका छन्।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार सोमबार दिउँसो साढे २ बजेतिर आफ्ना साथीसँगै पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए। घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा खोजी कार्य गरिए पनि दुबै जनाको ज्यान जोगाउन सकिएन।

प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीले शवहरूलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयहरूका अनुसार वर्षायाममा बबई नदीमा पानीको बहाव तीव्र हुने हुँदा यस क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको छ। यस्ता घटनाबाट बच्न नदी आसपास चेतनामूलक कार्यक्रम तथा सुरक्षा व्यवस्था आवश्यक रहेको जनगुनासो गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्