राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मंगलबार, साउन २०, २०८२

मसुरीया, २० साउन - दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।

सुनुवाइ कार्यक्रम वडा नं. २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण, एकतानगरमा सम्पन्न भएको हो।

गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यबारे जानकारी गराउँदै, सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरेको हो।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत्, विपद् व्यवस्थापन, न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले दिनुभएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरिसकेको उल्लेख गर्दै समृद्धि, विकास र सेवा प्रवाहमा निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ। रचनात्मक सुझाव, सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ।”

अध्यक्ष विष्टले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउँदै, दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।

त्यस्तै, गाउँपालिकाको समृद्धिका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर पहल र समन्वय भइरहेको पनि उहाँले बताउनुभयो।

कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन अधिकारीले गर्नुभएको थियो। राप्ती गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ।

WhatsApp-Image-2025-08-05-at-5.11.57-PM-(1)-1754397301.jpeg

WhatsApp-Image-2025-08-05-at-5.11.58-PM-(1)-1754397299.jpeg

WhatsApp-Image-2025-08-05-at-5.11.57-PM-(2)-1754397299.jpeg

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्