घर र जग्गा अतिक्रमणको आरोपमा पीडित पक्षद्वारा न्यायको माग, आन्दोलनको चेतावनी

बिहीबार, साउन २२, २०८२

दाङ, श्रावण २२ – घोराही उपमहानगरपालिका वडा नम्बर ३ शेरापुरकी गीता चौधरीमाथि बारम्बार घरघुसेर आक्रमण, कुटपिट, मानसिक यातना र सम्पत्ति तोडफोड भएको भन्दै पीडित पक्षले दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।

मुक्त कमैया समाज, घोराही उपमहानगर समितिद्वारा जारी विज्ञप्तिमा गीता चौधरी तथा उनकी छोरीविरुद्ध शरद चौधरी र सीता चौधरीले निरन्तर दुर्व्यवहार गर्दै आएको उल्लेख गरिएको छ। २०६८ सालदेखि अधिकृत रूपमा आवास निर्माण गरी बसोबास गर्दै आएकी गीताको घरमा हालसम्म पटक–पटक आक्रमण, पानीको कुवा तोडफोड, शौचालय फोहोर पार्ने, लत्ताकपडा र भाँडाकुडा फाल्ने लगायतका कार्यहरू भएको जनाइएको छ।

घटना नियन्त्रणको माग गर्दै पीडित पक्षले प्रहरी र प्रशासनमा उजुरी गरे पनि अहिलेसम्म कुनै प्रभावकारी सुनुवाइ नभएको गुनासो छ। पीडित चौधरी परिवारले यदि तत्काल न्याय नपाएमा सशक्त आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्।

यसैबीच, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, दाङ जिल्ला समितिले पनि घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ। संगठनका अध्यक्ष वसन्त नेपालीले हस्ताक्षर गरेको विज्ञप्तिमा पीडित गीता चौधरीमाथि भएको घटनालाई योजनाबद्ध आक्रमण र मानवअधिकारविपरीतको कार्य भन्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

संगठनका अनुसार, ५–६ जनाको समूहले पीडितको कुवा तोडफोड गर्नु, सम्पत्ति फाल्नु, शौचालय फोहोर गर्नु लगायतका कार्यहरू पीडितको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याउने कार्य भएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि पीडितलाई न्याय नदिए आन्दोलनको रूप लिनेछ र त्यसबाट उत्पन्न जिम्मेवारी प्रशासन र सरोकारवाला निकायलाई हुनेछ।”

संगठनले यथाशीघ्र दोषी पहिचान गरी कानुनी कारबाही गर्न, पीडितलाई संरक्षण प्रदान गर्न र पीडितले गुमाएको आत्मसम्मान पुनःस्थापना गर्न माग गरेको छ।

2b34799d-51f9-4745-bd67-7787e45b8eca-1754573705.jpeg

1ad1962e-38f2-47d1-b505-875d898d102b-1754573705.jpeg

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्